काग्रेस नवलपुरका अधिवेशन: सभापतिमा जिसी र घिमिरे आकांक्षी


 



नवलपुर । नेपाली काँग्रेस नवलपुरको जिल्ला अधिवेशन फाल्गुन १९ र २० गते हुने भएको छ। नेपाली काँग्रेस नवलपुरका जिल्ला सचिव बालकृष्ण घिमिरेका अनुसार १९ गते उमेदवारी दर्ता र २० गते मतदान हुने छ।

यसैबीच नेपाली काँग्रेसको जिल्ला अधिवेशनमा सभापति पदमा दुई जना आकांक्षी देखिएका छन्।
स्रोतका अनुसार सभापतिमा महेन्द्रध्वज जिसी र बालकृष्ण घिमिरेले आकांक्षा देखाएका छन्।




घिमिरेले सामाजिक सञ्जालमार्फत आधिकारिक घोषणा गरिसकेका छन्। जिसी र घिमिरे अहिले दुवै जना काँग्रेस कार्यकर्तालाई भेटघाट गर्ने मत माग्ने गर्नमा व्यस्त छन्।

घिमिरे नेपाली काँग्रेसका अर्का हस्ती महेन्द्रध्वज जिसीसँग प्रतिप्रर्धा गर्ने सम्भावना बढी रहेको छ। जिसीलाई केही पक्ष जिल्लामा सर्वसम्मत सभापति बनाउने पक्षमा देखिए पनि घिमिरेको यो घोषणासँगै जिसीको सर्वसम्मत सभापति हुने सम्भावना टरेर गएको छ।

जिसीले यस अघि प्रदेश कमिटिको सभापतिमा आकांक्षा देखाएका थिए। उनी प्रदेश कमिटिको सभापतिको दौडबाट बाहिरिएपछि जिल्लामा सभापतिका आकांक्षी बनेका हुन् ।

 

जिसी साविक नवलपरासी जिल्लाका सचिव हुन्। यस अघि जिसी नवलपरासी जिल्ला एउटै हुँदा जिल्ला सभापतिमा विष्णु लामिछाने र देवेन्द्रराज कंडेलसँग पराजित भएका थिए। संविधान सभा सदस्य र पूर्व सांसद समेत रहेका जिसीलाई शेखर कोइरालाको समर्थन रहेको बुझिएको छ।

 

त्यसैगरी २०४७ मा सालमा नेपाल विद्यार्थी संघको जिल्ला कार्यसमिति सदस्य भएका घिमिरे, २०५७ मा नेविसंघ जिल्ला सचिव २०६२ मा प्रजातान्त्रिक विचार समाजको संस्थापक जिल्ला सभापति, २०६५ मा प्रजातान्त्रिक विचार समाजको केन्द्रिय सदस्य, नेपाली कांग्रेसको ११ औं र १२ औं महाधिवेशनमा जिल्ला कार्यसमिति सदस्य, १३ औं महाधिवेशनमा जिल्ला सचीव बनेका घिमिरे जिल्लामा बौद्धिक नेताको रुपमा चिनिन्छन्।

 

नेपाली काँग्रेस नवलपुरको अधिवेशनबाट १ जिल्ला सभापति, २ जिल्ला उपसभापति, २ सचिव, २ उपसचिव गरी पदाधिकारीमा ७ पदका लागि निर्वाचन हुने छ।

त्यसैगरी सदस्यहरुमा १ नगरपालिकाबाट १ महिला सहित ३ जना सदस्य गरी ४ नगरपालिकाबाट १२ जना सदस्य, १ गाउँपालिकाबाट १ महिलासहित २ जना सदस्य गरी ४ गाउँपालिकाबाट ८ जना सदस्य छानिनेछन् ।

 

त्यसैगरी खसआर्यबाट २ महिला र २ खुल्ला सदस्य, जनजातिबाट ३ महिला र ३ खुल्ला सदस्य गरी ६ जना सदस्य, दलितबाट १ जना सदस्य, थारुबाट १ महिला र एक खुल्ला गरी २ जना सदस्य र अल्पसंख्यक वा अपा·ताबाट १ जना सदस्य छनौट हुने छ। नवलपुरमा १ हजार ९ सय ६१ जनाले जिल्ला अधिवेशनमा आफनो मत प्रयोग गर्नेछन्।

 

 



सम्बन्धित
Loading...