पाँच जनाको ज्यान लिएकाे पाटेबाघ फत्तेपुर नियन्त्रणमा




बाँकेमा मान्छेमाथि आक्रमण गरी ज्यान लिइरहेको नरभक्षी पाटेबाघलाई नियन्त्रणमा लिइएको छ।

राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ फत्तेपुरको जंगलबाट बुधबार बिहान बाघलाई बेहोस बनाएर नियन्त्रणमा लिइएको हो ।




फत्तेपुरस्थित सिक्टाको पुर्वी नहर पारी जंगलबाट बाघलाई नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय बाँकेका प्रमुख ददिलाल कँडेलले जानकारी दिए ।

उक्त स्थानमा बाघको आहाराका लागि विगत १२ दिनदेखि पाडो बाँधेर राखिएको थियो । बाघले पाडोलाई हिजो नै शिकार गरेकोमा आज बिहान नियन्त्रणमा लिन सफल भएको कँडेलले बताए ।

पाडोलाई शिकार गरी मासु खान आएको बाघलाई राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक, डिभिजन वन कार्यालय, बाँके राष्ट्रिय निकुञ्ज, स्थानीय वन उपभोक्ता समितिलगायतको टोलीले नियन्त्रणमा लिएको हो ।

बाँकेको राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा गरी पाँच महिनामा बाघले पाँच जनाको शिकार गरिसकेको छ । धेरै प्रयास गर्दा पनि लामो समयसम्म नरभक्षी बाघ नियन्त्रणमा लिन सकिएको थिएन ।

बाघ नियन्त्रणमा नआउँदा स्थानीय बासिन्दा त्रासमा बसिरहेका थिए । नियन्त्रणमा लिइएको पाटबाघलाई अन्यत्रै लगिने जनाइएको छ।

 



सम्बन्धित
Loading...