मान्छे आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिएर चितवन पठाइयो

बाँकेमा मान्छेलाई आक्रमण गर्ने पाटेबाघ चितवन पठाइएको छ।
राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ स्थित सामुदायिक वनबाट बुधबार नियन्त्रणमा लिएको उक्त बाघलाई चितवन राष्ट्रिय निकुञ्जमा थुनेर राख्ने बाँके निकुञ्जका संरक्षण अधिकृत श्यामकुमार साहले जानकारी दिए।
‘अन्यन्त्र बाघ राख्न ठाउँ नभएकाले हामीले चितवन पठाएका हौ’, साहले भने,‘त्यहाँ जंगलमा छोड्ने होइन, संरक्षण गरेरै राख्ने हो।’
बाघले पटकपटक स्थानीयलाई आक्रमण गरेपछि बर्दियाबाट आएको राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोली, नेपाली सेना, बाँके निकुञ्ज समेतको सहकार्यमा बाघलाई नियन्त्रण लिइएको हो।
पछिल्लो समय गत फागुन ८ मा बाघले राप्ती सोनारी ७ का ३० वर्षीय वकिल गद्दीलाई आक्रमण गरेको थियो।
साथै फागुन ७ मा राप्ती सोनारी ६ का ६० वर्षका धनबहादुर चलाउनेको बाघको आक्रमणबाट मृत्यु भएको छ।
त्यसअघि राप्ती सोनारी ६ फत्तेपुर ६ का २९ वर्षीया चाँदनी थारु र राप्ती सोनारी ४ की ५३ वर्षीया लीला विष्टको पनि बाघको आक्रमणबाट मृत्यु भएको थियो।
बाघको आक्रमणबाट राप्ती सोनारी १ गाभर र नरैनापुरमा समेत एकेक जनाको मृत्यु भएको थियो।
भदौ अन्तिम यता बाघले बाँकेका राप्ती र नरैनापुरमा गरी ५ जनाको ज्यान लिएको थियो।