लागुऔषधको विषयमा विवाद हुँदा हत्या, दुईजना पक्राउ
काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–५ स्थित प्लटिङमा मृत भेटिएका मानबहादुर राउतको हत्या भएको खुलेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंले हत्या आरोपमा दुईजनालाई पक्राउ गरेको छ ।
हत्यामा संलग्न भएको आरोपमा याकु चौधरी र करण पासवानलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले बताए ।
फागुन १६ मा साँझ ९ बजे घरबाट निस्केका जुम्लाका मानबहादुर मंगलबार मृत भेटिएका थिए ।
टोखास्थित चण्डेश्वरी मन्दिर नजिकै परिवारसँग बस्ने राउत मजदुर हुन् । डेराबाट करिब ३ किलोमिटर पर उनी मृत फेला परेका हुन् ।
लागु औषधको विषयमा झगडा हुँदा याकु चौधरी र करण पासवान मिलेर उनको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।
आरोपीलाई ‘लागु औषध ल्याइदिन्छु’ भनेर मानबहादुरले पैसा लगेका थिए । धेरै दिनसम्म लागु औषध नल्याएको र पैसा पनि फिर्ता नदिएको विषयमा उनीहरुबीच विवाद भएको छ । मृतकको टाउकोमा चोट देखिएको छ ।

हत्यापछि आरोपीहरु रिह्याव सेन्टरमा गएर लुकेर बसेका थिए ।