चितवन कांग्रेसमा मतदान जारी, सभापतीमा पाँच जनाको प्रतिस्पर्धा

भरतपुर । नेपाली कांग्रेस जिल्ला कार्य समिति चितवनको १४औँ जिल्ला अधिवेशनअन्तर्गत नयाँ कार्य समितिको लागि आज निर्वाचन हुँदै छ ।
नारायणगढको नारायणी कला मन्दिरमा मतदान भइरहेको छ । बिहान साढे १० बजेदेखि मतदान सुरु भएको हो ।
निर्वाचन तालिकाअनुसार बेलुका ५ बजेसम्म मतदान हुने छ । मतदान सकिएपछि मतगणना सुरु हुने नेपाली कांग्रेस चितवनका वर्तमान सभापति जीतनारायण श्रेष्ठले जानकारी दिए ।
चितवन कांग्रेसको सभापतीका लागि पाँच जनाको प्रतिस्पर्धा भएको छ । कांग्रेस सभापती शेरबहादुर देउवा पक्षका मिलनबाबु श्रेष्ठ र संस्थापन इतरका चार जनाले जिल्ला सभापतीको लागि उम्मेदवारी दिएका छन् ।
संस्थापन इतरमा उत्तम जोशी, राजेश्वर खनाल, डा सूर्यकान्त घिमिरे र कैलाश कोइराला छन् । जोशी वर्तमान जिल्ला कार्यसमितिका सचिव हुन् ।
सभापतिका लागि उम्मेदवारले ५० प्रतिशत भन्दाबढी मत ल्याउन सकेनन् भने दोस्रो चरणको मतदान हुने छ ।
त्यस्तै दुई जना उप–सभापतिको लागि १५ जनाले उम्मेदवारी दिएका छन् । शालिक शर्मा पौडेल, सुरविर पोखरेल, उद्दव लोहनी, महेश बानियाँ, हेमलाल भट्टराई, राजेन्द्र डोटेल, रघुनाथ भट्ट, भुवन खनाल, मोहितजंग पाण्डे, निलमणि पाठक, तेजप्रसाद अधिकारी, राजन गौतम, बुद्धिबहादुर गुरुङ, निर्मल कुमार श्रेष्ठ र राजीव न्यौपानेले उम्मेदवारी दिएका छन् ।
दुई सचिवका लागि आठ जना र दुई सह–सचिवका लागि १० जनाले उम्मेदारी दिएका छन् । ४१ कार्यसमिति सदस्यका लागि १२२ जनाले उम्मेदवारी दिएका छन् । महासमिति सदस्यतर्फ ३२ पदमा ३६ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन समितिका संयोजक अधिवक्ता ज्ञानेन्द्र प्रसाद अधिकारीले जानकारी दिए ।

कार्य समिति सदस्यमा प्रत्यक्ष पालिकातर्फ महिला सदस्यमा माडीकी शुक्रमिया महतो र समानुपातिकतर्फ आदीवासी जनजाति महिला सदस्यमा मिना कुमारी गुरुङ, राममाया गुरुङ र राममाया पिया र थारु खुलातर्फ विश्राम महतो निर्विरोध निर्वाचित भएका उनले बताए ।

