राष्ट्रघाती एमसीसी सम्झौताको विरुद्ध कावासोतीमा ६ दलको प्रदर्शन
नवलपुर । एमसीसी सम्झौताको विरुद्ध पूर्वी नवलपरासीको कावासोतीमा ६ दलले प्रदर्शन गरेको छ । शुक्रबार ६ दलले कावासोतीमा कोण सभा गरेको हो ।
कोणसभामा बोल्दै नेकपा क्रान्तिकारी माओवादीका पोलिटव्युरो सदस्य एवम् गण्डकी प्रदेशका सहइन्चार्ज अशोक लम्साल अनुकुलले व्याख्यात्मक सहितको सम्झौताको नाममा एमसीसी पास गरेर नेपालका संसदीय व्यवस्थाका राजनीतिक दलहरुले जनघाति काम गरेको बताए ।
उनले अमेरिकाले संशोधन सहितको एमसीसी लागु गर्ने नभई अमेरिकाले भने अनुसारको हुबहु सम्झौता कार्यान्वयन गर्ने समेत दावी गरे ।
नेकपा क्रान्तिकारी माओवादी नवलपुरका सेक्रेटरी उत्तम थापाको अध्यक्षता र राष्ट्रिय जनमोर्चा परिषद सदस्य चन्द्र सापकोटाको सञ्चालनमा भएको कार्यक्रममा राष्ट्रिय जनमोर्चा जिल्ला उपाध्यक्ष विकाराम चौधरी, नेकपा माओवादी समाजवादीका जिल्ला संयोजक भिमात मगर लगायतले बोलेका थिए ।
उनीहरुले एमसीसी सम्झौता राष्ट्रघाती भएकोले यसलाई नेपालमा कार्यान्वयनमा ल्याउन नहुनेमा जोड दिए ।
कार्यक्रममा एमसीसी खारेजी र मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नाराबाजी समेत गरिएको थियो ।








