हिंसा पीडित महिलाहरुका लागि नवलपुरमा संकट व्यवस्थापन कक्ष

लैंगिक हिंसा सम्बन्धि एकद्वार व्यवस्थापन केन्द्र (ओसिएमसि) नवलपुरमा स्थापना भएको छ। नवलपुरमा स्थापना भएसँगै यो देशका ७७ वटै जिल्लामा स्थापना भएको जनाईएको छ। जिल्लाभरिका सबै पालिकाले हेर्ने गरि यो केन्द्रको स्थापना गरिएको हो ।
हिंसा पीडित तथा प्रभावित व्यक्तिहरुलाई स्वास्थ्य उपचार लगायत अन्य आवश्यक सेवाहरु एकद्वारबाट पूर्णरुपमा निशुल्क उपलब्ध गराउने व्यवस्था मिलाई लैंगिक हिंसा नियन्त्रणमा योगदान पुराउने लक्ष्य केन्द्रले राखेको छ ।
कुनै पनि लैंगिक हिंसालाई एकद्वार प्रणालीबाट हल गर्न यो केन्द्रले काम गर्ने नवलपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए ।
लैंगिक हिंसा सम्बन्धि एकद्वार व्यवस्थापन केन्द्र (ओसिएमसि) संग सम्बन्धित जिल्लामा तीन वटा समिति बनेको जनाईएको छ ।
प्रमुख जिल्ला अधिकारी घिमिरेको नेतृत्वमा लैंगिक हिंसा व्यवस्थापन समन्वय समिति, जिल्ला समन्वय समितिका प्रमुखको नेतृत्वमा लैंगिक हिंसा व्यवस्थापन सल्लाहकार समिति र एकद्वार संकट व्यवस्थापन केन्द्रका प्रमुख
(चिकित्सक÷मेडिकल अधिकृत) को नेतृत्वमा मामिला व्यवस्थापन समिति रहेको छ ।
यसैबीच मध्यविन्दु जिल्ला अस्पतालमा लैंगिक हिंसा सम्बन्धि एकद्वार व्यवस्थापन केन्द्र (ओसिएमसि) को कार्यलयको पनि उद्घाटन गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख चेसराम आलेले कार्यालयको उद्घाटन गरे ।
कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख शारदा वि क, जिल्ला समन्वय समितिका अधिकारी देवि प्रसाद आचार्य, जिल्ला शिक्षा समन्वय प्रमुख कृण्णचन्द्र पोखे्रल, मध्यविन्दु जिल्ला अस्पतालका मेसु विर बहादुर थापा, स्वास्थ्य कार्यलयका प्रमुख केशव चापागाई लगायत सम्पूर्ण पालिकाका उपप्रमुखहरुको उपस्थिति रहेको थियो ।