जीवनदाता प्राकृतिक चिकित्सा
अस्पताल चहारेर ज्यान र पैसा सबै सकिने अवस्थाका धेरै बिरामीहरुले रजहरको प्राकृतिक चिकित्सालय पुगेर पुनर्जीवन पाएका छन् । प्राकृतिक रूपले गरिने उपचार पद्दतिले साँच्चिकै जीवनदान गरिरहेको छ ।

लुम्बिनी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री चेतनारायण आचार्य ६ वर्षअघि जटिल रोगले थलिए । मुलुकका ठूला–ठूला अस्पतालमा उपचारका लागि पुगे । तर कही कतै उपचार गरे पनि बीसको उन्नाइस भएन । भारतका चलेका अस्पतालले औषधि थमाइदिए पनि उनी रोगले जीर्ण बने । अस्पतालले रिपोर्ट देखाउँदै किड्नी बदल्नुपर्ने, मुटुको दुई भल्ब फेर्नुपर्ने, पायल्सको अप्रेसन गर्नुपर्ने, नाकमा पलाएको मासु फाल्नुपर्ने बताए पनि उनी जीवनदेखि नै निराश थिए । संयोग भारतको मेदान्त अस्पतालमा अप्रेसनको तयारी भइरहेका बेला उनका एक आफन्तले फोन गरे । रोगको व्यथा सुन्दै उपचारका लागि उनी पश्चिम नवलपरासीको रजहरस्थित प्राकृतिक चिकित्सालयमा पुगे ।
अप्रेसनको अघिल्लो दिन रजहरका लागि रवना भएका उनलाई बाच्छु भन्ने कल्पना पनि थिएन् । ‘यतिका अस्पतालले गर्न नसकेको उपचार प्राकृतिक चिकित्साले कसरी गर्ला ? उनले सोचिरहे । तै पनि आफन्तको भरोसाका लागि उपचारमा जोडिए । रोग निको नहुने भन्दै जीवनप्रति नै आस मारेका उनी त्यहाँ पुगेको केही समयमै तंग्रिए । मनमा बाँच्ने सोंच आयो ।
४३ दिनसम्मको उपवास गर्दै उनले चिकित्सालयका चिकित्सकको सुझावअनुसार उपचारमा संलग्न भए । अन्ततः अहिले मृत्युको मुखबाट फर्किएर प्रदेशको मन्त्री समेत बने । उनले चिकित्सालयले प्रकाशन गरेको पुस्तकमा अनुभव लेखेका छन्–‘कल्पना नै नगरेको उपचार र सेवा मैले चिकित्सालयबाट प्राप्त गरे ।’
नवलपरासीको रजहरस्थित प्राकृतिक चिकित्सालयको उपचारले पुनर्जीवन पाउने उनी एक्ला हैनन् । मेडिकल उपचार गर्दैगर्दा धनसम्पत्ति र ज्यान नै अन्तिम अवस्थामा पुगेकाहरु यहाँ पुगेर पुनर्जीवन प्राप्त गरेका छन् ।
नवलपुर देवचुली–१३ का ८७ वर्षीय झविलाल खरेललाई मुटुको मात्रै समस्या थिएन । उच्च रक्तचाप र मधुमेहबाट पनि थलिएका उनको पाको शरीरले लागेकै रोग पनि थाम्नै मुस्किल थियो । त्यसैमाथि कोरोना संक्रमण थपियो । अन्य अस्पतालले उनको उपचार गर्न डराए, तर निको पारेर फर्काउने आँट गरे रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयका स्वास्थ्यकर्मीले । नभन्दै प्राकृतिक पद्दतिबाटै उनी संक्रमण मुक्त मात्रै भएनन्, अन्य रोग पनि कम हुँदै गयो । खरेल भन्छन्– ‘बाँच्दिनँ भन्ने लागेको थियो, बाँचेर फर्किएँ । नपत्याउने खोलाले बगाउँछ भन्थे, मान्छेले विश्वास नगर्ने अस्पतालले निको पा¥यो ।’ झविलाल यो अस्पलातमा उपचार गर्ने सबैभन्दा वृद्धमा पर्छन् ।
अस्पताले उपचारमा नागरिकको विश्वास बटुल्दै गएको छ । ०६४ सालमा पोखरामा सञ्चालनमा आएको प्राकृतिक चिकित्सालय ०६७ मा नवलपरासीको रजहरमा सरेको थियो । विपन्न सीमान्तकृतलगायत सबै वर्गको पहुँचमा स्वास्थ्य सेवा पुराउने उद्देश्य राख्दै स्थापना भएको चिकित्सालय जीवनदान गर्ने केन्द्र बनेको छ । यहाँ योग तथा प्राकृतिक चिकित्साको माध्यमबाट बिरामीको उपचार हुन्छ ।
आफूले भ्याएसम्मको अस्पतालमा डुलेर निराश बनेर आउने बिरामीलाई सुरुमा नै निको हुने हौसला दिने र त्यसपछि प्राकृतिक जडीबुटीको सहायतामा उपचार गर्ने गरेको चिकित्सालयका निर्देशक डा. विनोद पौडेल बताउँछन् । ‘हामीले विश्वमा नै नभएको काम त गरेका होइनौं, रोगलाई प्राकृतिक पद्दतिबाटै उपचार गरेर निको परेको हो,’ उनले भने–‘अहिलेको समयमा क्याप्सुल र सुइलाई उपचार मानिन्छ, विश्वास गरिन्छ, त्यो पनि कुनै रोगमा आवश्यक होला तर, धेरै रोग प्राकृतिक पद्दतिबाटै निको हुन्छ जुन हामीले प्रमाणित नै गरेर देखाएका छौं ।’

जीवनशैली सिकाउने पाठशाला
खानपान र जीवनशैली नमिल्दा लाग्ने रोगहरू ८० प्रतिशतभन्दा बढी छन् । संक्रामक रोगभन्दा खराब जीवनशैलीको कारण लाग्ने रोग बढी छन् । खराब जीवनशैलीका कारण वृद्धावस्थामा देखिने स्वास्थ्य समस्या युवा उमेरमै हुने गरेको छ । ‘१५ वर्षअघि नियमित औषधि सेवन गर्नुपर्ने मान्छे खोज्दा पनि भेटाउन गाह्रो हुन्थ्यो । अहिले औषधि सेवन गर्न नपर्ने भेटिन गाह्रो छ,’ चिकित्सालयका निर्देशक पौडेलले भने–‘३० वर्षअघि नराम्रो कुरा खान्छौं भन्दा पाइँदैनथियो अहिले राम्रो कुरा खान्छौं भन्दा पाइँदैन । यस कारण प्राकृतिक जीवन अहिलेको आवश्यकता हो ।’ खानपानकै कारण मानिसको शरीर थला पर्ने गरेको डा. पौडेलले अनुभव बताए ।
प्राकृतिक चिकित्सालयले के खाने, कति खाने, कसरी खानेजस्ता कुरा सिकाउँछ । तनावमुक्त जीवन कसरी जिउने, छोटोसमयमा शारीरिक र मानसिक रूपमा कसरी आराम गर्ने, उमेर र समयअनुसार व्यायाम वा योगाको अभ्यास, स्वस्थ रहनको लागि अपनाउनुपर्ने अत्यावश्यक जीवनशैलीको कुरा प्राकृतिक चिकित्सालयमा सिकाउने गरिन्छ । त्यसैले चिकित्सालयभन्दा पनि जीवनशैली सिकाउने पाठशालाको रूपमा चर्चा गरिन्छ । उपचारको लागि चिकित्सालय आएका बिरामी जीवनशैली सिकेर फर्कने गर्दछन् ।
प्राकृतिक चिकित्सालयमा खानपान, व्यायाम, तनावको व्यवस्थापन र आरामबाटै रोग निको पारिन्छ । यसले मानिसको समग्र स्वास्थ्यको सुरक्षा र सकारात्मक स्वास्थ्यप्रति आकर्षित गर्छ । प्राकृतिक उपचार पद्दतिले जीवनशैली परिवर्तन गरेर शरीरभित्र रहेको फोहोर र विकार निकाल्ने हुँदा शरीर स्वस्थ हुने चिकित्सक पौडेल बताउँछन् । थेरापी, माटो चिकित्सा, पानी चिकित्सा, भोजन चिकित्साको माध्यमबाट उपचार हुन्छ । यी बाहेक आवश्यक परेकालाई फिजियोथेरापी, अक्युपञ्चरबाट समेत उपचार हुन्छ ।
प्राकृतिक चिकित्सालयमा औषधिको गोलीले होइन बोलीले निको बनाइन्छ । चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको व्यवहारले आधार रोग निको बनाउँछन् । माटो, पानी, सूर्यको किरण, हावा, आकाशलगायतका तत्वहरूलाई आवश्यकता हेरेर विभिन्न रूपमा रोगीसँग जोडेर उपचार सेवा दिइन्छ । यसैबाट रोगलाई निको पारिन्छ । चिकित्सालयले अहिलेसम्म १५ हजारभन्दा धेरैलाई उपचार सेवा प्रदान गरेको छ ।
कोरोना उपचारमा शून्य मृत्यु

०७७ जेठ २४ मा चिकित्सालयमा अचानक खबर आयो– ‘जिल्लामा तीन जनामा कोरोना संक्रमण पुष्टि भयो ।’ रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयलाई अस्थायी कोभिड–१९ अस्पताल बनाउने तयारी भर्खरै मात्रै चल्दै थियो । स्थानीय तहले संक्रमितलाई अस्पताल ल्याए । कोभिड अस्पतालको तयारीमा लागेका त्रसित भए । तर, चिकित्सालयका व्यवस्थापक र चिकित्सक हड्बडाएनन् ।
उनीहरूले संक्रमितमा आत्मबल थप्दै भने–‘चिन्ता गर्नु पर्दैन हामी निको पारेर पठाउँछौं ।’ चिकित्सालयका व्यवस्थापक हरिप्रसाद सापकोटा सो समयलाई सम्झँदै अहिले पनि भन्छन् ‘सुरुमा मानसिक रूपमा त्रास पैदा भयो, तर बिरामीलाई निको पार्दै जाँदा हामीमा पनि हौसला थपिँदै गयो ।’
संक्रमित थपिँदै जाँदा चाँडै आइसोलेसन तयार पारेर धमाधम उपचार गरेको चिकित्सालयले कसैलाई अर्को अस्पतालमा पठाउनु परेन र रोग बोकेर फर्काउनु परेन । परेपछि गरिने रहेछ भन्ने अनुभव पनि बटुलेको व्यवस्थापक सापकोटा बताउँछन् । ३ सय ५० जनाका लागि तयार पारिएको आइसोलेसनमा एकै पटकमा २ सय ५६ जनासम्मको उपचार भएको थियो ।
जिल्लाका विभिन्न स्थानीय तहले सिफारिस गरेका संक्रमितलाई संक्रमणमुक्त बनाउन चिकित्सालयका चिकित्सक विनोद पौडेल निरन्तर खटेका थिए । ‘रोग नयाँ थियो, अन्य अस्पतालमा मृत्युका खबर धेरै सुनियो, तर हामीले प्राकृतिक चिकित्सा पद्दतिले अस्पतालमा आउनेलाई मृत्युमा शून्य नै पा¥यौं,’ चिकित्सक पौडेलले भने–‘समयमा उपचार गरे निको नहुने रोग हुँदैन ।’
कोरोना संक्रमण रोक्न विभिन्न उपचार पद्दति अपनाइयो । खोप नबनेको अवस्थामा यसलाई रोकथाम गर्नु नै पहिलो काम थियो । प्राकृतिक चिकित्सा पद्दतिमा भने नाक र घाँटीको सफाइ गरेर उपचार गरिन्थ्यो । चिकित्सालयले संक्रमितलाई योग, ध्यान, प्राणायाममा सहभागी गराउनुका साथै स्वस्थकर खानपानमा पनि विशेष ध्यान दिएको चिकित्सक पौडेलले भने । ‘हामीले निको पार्ने पद्दति नै पहिलो चरणमा नाक र घाँटी सफाइ हो,’ उनले भने–‘यहाँ खानपान र योग नै मुख्य उपचार विधि हो ।’
दीर्घरोगीको आशा जोगाउने स्थान
चिकित्सालय कोरोना महामारी अघि अन्य बिरामी जान्थे । नेपालका सबै जिल्लाबाट यहाँ उपचारका लागि पुगेको तथ्यांक अस्पतालसँग छ । अहिले पनि अस्पतालमा उपचार गर्नेको भीड नै लाग्छ । यहाँ उपचार गराउन आउनुहोस् भनेर कुनै प्रचार नै गर्नु पर्दैन । सन्तुष्ट बिरामीले भनेकै भरमा यहाँ बिरामीको चाप बढेको हो ।
‘केहीले त सन्तुष्ट भएर अस्पताललाई करोडौं रुपैयाँ दान दिने, भवन निर्माणमा सहयोग गर्ने पनि छन्, पूर्वको उर्लाबारीमा जग्गा किनेर यहाँ पनि अस्पताल खोल्नु प¥यो भनेर तयार हुने दाता पनि पहिले बिरामी नै थिए,’ अस्पतालका व्यवस्थापक सापकोटाले भने ‘सबै रोगको उपचार गर्दै आएकाले अहिले यसमा आकर्षण उच्च छ ।’
छालासम्बन्धी समस्याका कारण चिकित्सालय पुगेकी नारायणगढकी गौरीदेवी प्रधानले उपचारमा सन्तुष्ट भएपछि भवन निर्माणका लागि १ करोड ३० लाख रुपैयाँ सहयोग गरेको समेत तथ्यांक यो अस्पतालमा भेटिन्छ । अस्पतालका संस्थापकसमेत रहेका व्यवस्थापक हरिप्रसाद सापकोटाका अनुसार अचेल करिब २५ प्रतिशत बिरामी त सुरुआतमै यहाँ आउने पुग्ने गरेका छन् । प्राकृतिक चिकित्साप्रति विश्वास बढ्दो क्रममा रहेको उनको अनुभव छ । प्यारालाइसिस, मधुमेह, मानसिक समस्या, ग्यास्ट्रिक, अल्सर, पायल्सलगायतका समस्या लिएर पुग्ने बिरामीको संख्या धेरै छ । यहाँ पुग्ने बिरामीलाई कम्तीमा १५ दिन अस्पतालमै राखेर उपचार गरिन्छ । उपचारसहित खाना र बस्नका लागि ९ सय रुपैयाँ लिने गरिन्छ । विपन्न वर्गकालाई यसमा पनि छुट दिने व्यवस्था छ । रकम अभाव भएका धेरैको उपचार निःशुल्कसमेत गरिएको छ ।

चिकित्सालयमा बिरामीलाई अग्र्यानिक खाना खुवाउन आफैंले ६ बिघा जमिनमा तरकारी खेती गरिएको छ । गाई पालेर दूध खुवाइन्छ । १० बिघा जमिनमा फैलिएको चिकित्सालयमा मर्निङ, इभिनिङ वाकका लागि करिब एक किलोमिटरको ट्र्याक पनि बनाइएको छ ।
प्राकृतिक चिकित्सालयको उपचारबाट शरीर सफाइ हुनुका साथै स्वास्थ्यसम्बन्धी ठूला समस्याहरू क्यान्सर, प्यारालाइसिस, उच्च रक्तचाप, दम, मधुमेहजस्ता रोगबाट बच्न सकिने चिकित्सक बताउँछन् । ‘प्राकृतिक चिकित्सामा एउटा अंग वा समस्याको उपचार गराउँदा पूरा शरीरको नै उपचार भइरहेको हुन्छ । कोही मिर्गौलामा पत्थरी भएर उपचार गर्न आउँदा टाउको दुख्ने, उच्च रक्तचाप आदि अन्य समस्याको पनि उपचार भइरहेको हुन्छ,’ चिकित्सालयका अध्यक्ष सन्तबहादुर क्षेत्रीले भने ‘प्राकृतिक चिकित्सा मात्र यस्तो पद्धति हो जसले रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ । कुनै पनि दीर्घ वा तीव्र रोगबाट बचाउन मद्दत गर्दछ । मैले भोगेकै भएर म यो बताउन सक्ने भएको हुँ ।’