सुनवलको वृद्धाश्रम आर्थिक अभाव, वृद्धावृद्धाको छाक टार्न धौ-धौ

पश्चिम नवलपरासीको सुनवल १३ सगरपोखरीमा रहेको पवित्र वृद्धाश्रममा वृद्धवृद्धाहरुलाई दैनिक खानपान गराउन धौ धौ भएको छ । विभिन्न संघ संस्था तथा व्यक्तिले स्वतस्र्फुत रुपमा गरेको सहयोगको भरमा चल्दै आएको वृद्धाश्रममा अहिले खाद्यान्नको अभाव भएको छ ।
वृद्धाश्रमले विभिन्न संघ संस्था तथा व्यक्तिहरुलाई पत्राचार गरेरै वृद्धाश्रम संञ्चालनमा समस्या भएकाले आर्थिक सहयोग गर्न आग्रह गरेको वृद्धाश्रम व्यवस्थापन समितिका अध्यक्ष रुद्र प्रसाद शर्माले जानकारी दिए ।
जन्मदिन लगाएत कुनै उत्सव मनाउन आउनेहरुले खाद्यान्न लगाएतका समाग्रि सहयोग गर्दे आएका थिए, त्यसैको आधारमा खाद्यान्न व्यवस्थापन हुदै आएकोमा अहिले दैनिक छाक टार्न समस्या भएपछि सहयोगको अपिल गरिएको शर्माले बताए । वृद्धावृद्धालाई दैनिक चार पटक खुवाउदै आएपनि अहिले खाद्यान्न अभावका कारण खाना खाजा खुवाउन समस्या भएको वृद्धाश्रमले जनाएको छ । लत्ताकपडा पनि प्रर्याप्त नभएको, आर्थिक अभावका कारण वृद्धवृद्धाको उपचार, रेखदेखमा अप्ठ्यरो परेको अध्यक्ष शर्माले बताए ।
पवित्र वृद्धाश्रम बडेरामा अहिले तिन जना वृद्धवृद्धा र दुई जना सहयोगि बस्दै आएका छन् । वृद्धाश्रमले अक्षय कोष र वृद्धाश्रमको नाममा रहेको खेत मार्फत वार्षिक १ लाख ४५ हजार सम्म आम्दिानी गर्दे आएको छ तर उक्त रकम अपुग भएको समितिले जनाएको छ ।
वृद्धाश्रममा रहेका सहयोगिलाई मासिक १० हजार तलब दिईदै आएको र उक्त रकम तलब र हेरचाहमै खर्च हुने हुदा खाद्यान्न लगाएतका अन्य व्यवस्थापनका काम गर्न नसकिएको जनाईएको छ ।
स्थानिय तहले पनि वृद्धाश्रमको व्यवस्थापनमा खासै चासो नदेखाएको अध्यक्ष शर्माले गुनासो गरे। पटक पटक सुनवल नगरपालिकामा जानकारी गराएपनि एक पटक खाद्यान्न सहयोग गरेको तर अन्य केहि सहयोग नपाएको उनको भनाई छ ।
वृद्धाश्रममा खानेपानीको पनि समस्या छ । ट्युबेलको पानी पिउदै आएका वृद्धवृद्धा बेलाबेलामा ट्युबेल सुक्दा पानीको सहज उपभोग गर्न नपाएको पनि उनिहरुको गुनासो छ ।