पत्रकार रानाभाट कांग्रेस जिल्ला सचिवमा विजयी

नवलपुर । केन्द्रका ३ गुट निकटका जिल्ला नेताहरुको गठबन्धनमा पूर्वी नवलपरासी कांग्रेसको जिल्ला अधिवेशन सकिएको छ ।
अधिवेशनमा शेरबहादुर देउवा, रामचन्द्र पौडेल र शशांक कोइरालानिकट नेताहरुले गठबन्धन बनाएका थिए । गठबन्धनका नाममा पुराना र निष्ठावान कार्यकर्तापछि पारेको भन्दै असन्तुष्टि जनाएर कार्यकर्ताहरुले उमेदवारी दिएपछि चुनाव भएको हो । पूर्वी नवलपरासी पूर्वमहामन्त्री शशांक कोइरालाको चुनावी जिल्ला हो ।
सभापतिमा भने पौडेलनिकट महेन्द्रध्वज जीसी सर्वसम्मत भएका छन् । अन्य पदाधिकारी, सदस्य र महासमिति सदस्य सबैमा चुनाव भएको हो । उपसभापतिमा भने गठबन्धनमा नपरेका चन्द्रबहानुर रानाले बाजी मारेका छन् । जिल्लामा लोकप्रिय नेताका रुपमा मानिने रानाले गठबन्धनमा नपारेपछि असन्तुष्टि जनाउँदै उमेदवारी दिएका थिए । राना मध्यविन्दु नगरपालिकाका मेयर हुन् । उन देउवानिकट पूर्णसिंह रानालाई १ सय ६६ मत अन्तरले पराजीतगर्दै विजयी भएका हुन् ।
सोमबार साँझ सम्पन्न अधिवेशनमा पत्रकार होमराज रानाभाटले सबैभन्दा बढी मत ल्याएर सचिवमा विजयी भएका छन् । उनले ११ सय ४१ मत ल्याएका हुन् । चुनावमा १८ सय १८ मत खसेको थियो । ३ दशकदेखि पत्रकारितागर्दै आएका रानाभाट पत्रकार महासंघका नवपरासीका पूर्वअध्यक्ष समेत हुन् ।
कांग्रेसको विधानअनुसार २/२ जना उपसभापति/सचिव र सहसचिव हुने व्यवस्था छ । जसअनुसार उपसभापतिमा रानासहित बालकृष्ण घिमिरे र सचिवमा पत्रकार रानाभाटसहित महेन्द्र पोखरेल विजयी भएका छन् । सहसचिवमा उदय अर्याल र राजेश पौडेल विजयी भएका छन् ।
महेन्द्रध्वज जिसी भने सर्वसम्त सभापति भईसकेका थिए ।
नवलपुरमा पत्रकार केवी राना बौदीकाली गाउँपालिकाका काँग्रेस सभापतिमा विजयी भएका छन् भने पत्रकार आषिश रेग्मी हुप्सेकोट गाउँपालिकाको काँग्रेस सचिवमा निर्वाचित भएका छन् । नेकपा एमाले नवलपुरका जिल्ला कमिटिमा पनि पत्रकारहरुको बर्चश्व रहेको छ ।