कृषि बीमा गराउनेको आकर्षण देखिएन, एक महिनामै १७ प्रतिशतले घट्यो कृषि बीमा शुल्क
बीमा समितिले कृषि बीमा गराउनेको संख्या बढेर पछिल्लो समय लघुबीमा गर्ने बढेको भने पनि तथ्यांकले कृषि बीमा गर्ने घटेको देखाएको छ । समितिले प्रकासन गरेको पुस र माघ महीनाको तथ्यांकलाई हेर्दा एक महिनाको अन्तरालमा कृषि तथा बाली बीमा गरेर बीमा कम्पनीहरूले आर्जन गर्ने शुल्क घटेको देखिन्छ ।
पुसको तुलनामा माघमा कृषि बीमा गराएर बीमा कम्पनीहरूले आर्जन गर्ने शुल्क १७ दशमलव ५६ प्रतिशतले घटेको छ । समितिका अनुसार पुसमा यो बीमा गराएर बीमा कम्पनीहरूले कुल २१ करोड ८ लाख रुपैयाँ आर्जन गरेका थिए । तर, माघमा भने उक्त शीर्षकमा बीमा कम्पनीहरूले १७ करोड ३८ लाख रुपैयाँ मात्र बीमा शुल्क आर्जन गरेका छन् ।
तथ्यांक अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशमा कृषि तथा बाली बीमा गराउने बढेका छन् । कर्णाली प्रदेशमा बीमा कम्पनीहरूले पुसमा ५२ लाख ७ हजार रुपैयाँ कृषि तथा बाली बीमा शुल्क आर्जन गरेका थिए । एक महिनापछि माघमा यो रकम वृद्धि भएर ८५ लाख ९१ हजार पुगेको छ । यो रकम एक महिनामा ६४ प्रतिशतले वृद्धि भएको हो ।
त्यस्तै सुदूरपश्चिम प्रदेशमा पनि कृषि बीमा गराउँने बढेको देखिन्छ । एक महिनाको अवधिमा यो प्रदेशमा कृषि तथा बाली बीमा शुल्क ६ दशमलव शुन्य ३ प्रतिशतले वृद्धि भएको छ । यो प्रदेशमा बीमा कम्पनीहरूले पुसमा ६२ लाख १४ हजार र माघमा ६५ हजार ८९ लाख रुपैयाँ कृषि तथा बाली बीमामार्फत उठाएका थिए ।
कृषि तथा बाली बीमामार्फत उठ्ने शुल्क सबैभन्दा बढी घट्नेमा गण्डकी प्रदेश रहेको छ । यो प्रदेशमा उक्त शीर्षमा उठ्ने शुल्क एक महिनामा ३३ प्रतिशतले घटेको छ । यो प्रदेशले पुसमा ३ करोड ६४ लाख रुपैयाँ कृषि तथा बाली बीमा शुल्क उठाएकोमा माघमा घटेर २ करोड ४४ लाख रुपैयाँमा सीमित भएको हो ।