कछुवा गतिमा नारायणगढ–बुटवल सडक

४२ महिनामा सक्ने गरी सम्झौता भएको सडक विस्तारको काम ३६ महिना बित्दा १५ प्रतिशतमात्रै सकिएको छ ।
२०७५ सालको माघ २४ गते निर्माण सम्झौता भएको नारायणगढ–बुटवल सढक विस्तारको काम हालसम्म १५ प्रतिशतमात्रै सकिएको छ ।
एसियन राजमार्गको गुणस्तर मापदण्डमा ४२ महिनाभित्र सक्ने गरी ठेक्का सम्झौता भए पनि ३६ महिना बित्दासमेत उल्लेख्य प्रगति हुन सकेको छैन ।
अहिले चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल खण्डको १ सय १४ किलोमिटर सडक निर्माणको काम दुई खण्डमा गरिरहेको छ ।
दुई लेन रहेको नारायणगढ–बुटवल सडक खण्डलाई विस्तार गर्दै ठाउँअनुसार तीन, चार र ६ लेनको सडक बनाउन लागिएको हो । १६ अर्ब ९९ करोड ५२ लाख रुपैयाँ लागत अनुमान गरिएको योजनामा एसियाली विकास बैंकले ८५ प्रतिशत र बाँकी नेपाल सरकारको लगानी रहेको छ ।
यता सडक विस्तारको काममा ढिलाइ भएपछि यात्रुले तीन वर्षयता सास्ती बोहोर्नु परेको छ । सडक खण्डको विभिन्न स्थानमा पुल निर्माणको काम भइरहेकाले सडक भत्किएको छ । निर्माणको समयसीमा सकिन ६ महिना बाँकी रहँदा धुलाम्य सडकको यात्रा गर्न यात्रीहरु बाध्य भएका छन् ।
रुपन्देही, पश्चिम नवलपरासी र पूर्वी नवलपरासी हुँदै चितवनसम्मको १ सय १५ किलोमिटरको यो सडक निर्माणको काम हालसम्म ८० प्रतिशत सकिन पर्ने हो ।
लामो समयसम्म सडक निर्माणको काम नसकिँदा यात्रु र सवारी चालकले सास्ती भोग्नु परेको हो ।
नवलपरासी रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र गुप्ता बुटवल –नारायणगढ सडक राष्ट्रिय राजमार्ग लाइफलाइनकै सडक भएको बताउँदै निर्माणमा ढिलाइ हुँदा यात्रुले दुःख पाउनका साथै दुर्घटनाको जोखिम बढेको बताउँछन् ।
कामदारलाई भूक्तानी विवाद, रुख कटान, कोभिड संक्रमण, विद्युत् पोल सार्नपर्ने जस्ता कारणले काममा ढिलाइ भएकोले सडक निर्माणमा ढिलाइ भएको देखिन्छ । यो सडक निर्माणमा धेरै रुख काटिएको भन्दै बढी रुख काट्न स्वीकृति दिनेहरु माथि छानबिन गर्न समेत संसदीय समितिले शुक्रबार निर्देशन दिएको छ । आयोजनाको काम नै प्रभावित हुनेगरी गलत आंकडा पेश गरिएको समितिको ठहर छ ।
लामो समय निर्माण कार्य बन्द भएर गत मंसिरबाट पुनः काम सुरु गरिए पनि गति लिएको छैन । ठाउँ–ठाउँमा डाइभर्सन र नालीको काम सुरु गरिएको छैन । साना–ठूला पुल, कल्भर्ट र नाली निर्माणदेखि सडक चौडा गर्ने काम हल्का रुपमा भइरहेको छ । भत्किएको दुई लेनको सडकलाई ‘सिक्स’ र ‘फोर’ लेनमा विस्तारसहित स्तरोन्नति गरिँदैछ । तर, ठेकेदार कामको गति बढाएको छैन । पूर्व–पश्चिम राजमार्गको मध्य खण्डमा पर्ने महत्वपूर्ण सडक विस्तार आयोजना कोरोना महामारी तथा ‘साइट क्लियर’ र रुख कटानमा ढिलाइ हुँदा अगाडि बढ्न नसकेको योजना प्रमुख प्रदीप शाक्यले बताए ।
आर्थिक केन्द्र बुटवल र पर्यटकीय केन्द्र चितवनको नारायणगढलाई ‘फास्ट ट्रयाक’ सडकले जोड्ने गरी यो सडक विस्तार आयोजना सुरु भएको हो । साढे दुई घण्टाको बुटवल–नारायणगढ यात्रा सडक निर्माणका कारण ५ देखि ६ घण्टा लाग्ने गरेको छ । दैनिक साना–ठूला गरी करिब ७ हजार सवारी साधन ओहर–दोहर गर्ने यो सडक निर्माणमा ढिलाई हुँदा यात्रु र सवारी चालकले हैरानी खेप्ने गरेका छन् ।
कुल ११५ किलोमिटर सडकको ३६ महिनामा सक्ने गरी २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए । हालसम्म समग्रमा १५ प्रतिशत काम भए पनि पूर्वी खण्डमा अझैं ‘साइट क्लीयर गर्नसमेत बाँकी रहेको बताइन्छ । काम सक्नुपर्ने मिति नजिकिँदै जाँदा ठेक्का लिएको चिनियाँ कम्पनीले काम सक्न दुई वर्ष थप समय मागेको छ ।
नवलपुर क्षेत्रमा झनै सुस्त
बुटवल–नारायणगढ सडक विस्तारको काम माघ १९ गतेसम्म ९० दशमलब ६६ प्रतिशत अर्थात सडक विस्तारको अधिकांश काम सकिसक्नु पर्नेमा तर सडक विस्तारको जिम्मा लिएको चाइना स्टेट कन्ट्रक्शन इञ्जिनियरिङ कर्पोरेट लि.ले जम्मा १२ दशमलब ४४ प्रतिशत मात्र काम सकेको छ । नारायणगढ–बुटवल सडक योजना पूर्वी खण्डका योजना प्रमुख रमेशकुमार दिष्टीले लक्ष्यभन्दा ७८ दशमलब २२ प्रतिशत कम काम भएको बताए । कम्पनीले काम गर्न ढिलाई गरेको भन्दै आलोचना भइरहेको बेला उनले विभिन्न कारण देखाउँदै काम ढिलो भएको बताएका छन् ।
कम्पनीले निर्माण व्यवसायीबाट निर्माण आरम्भमा ढिलाई गर्नु, रुख कटान गर्नु पर्ने संख्या बढ्नु र कटान आदेश ढिलो गरी प्राप्त हुनु, कोभिडको महामारीले काम गर्न समस्या हुनु, विद्युत् लाइन सार्न समस्या हुनु आदि कारण देखाई काम ढिलो हुनुको कारण पेश गरेको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय नवलपुरले आयोजनामा जिल्लाका सरकारी कार्यालयहरुको कार्यप्रगति समिक्षा कार्यक्रममा दिष्टीले यस्तो बताएका हुन् ।
त्यसैगरी उनले सडक विस्तारमा ढिलो हुनुका कारणलाई खानेपानी लाइन स्थानान्तरण गर्न समस्या, वर्षातको पानी निकासको समस्या, काठदाउरा हस्तान्तरणमा समस्यालगायतका कारण पनि अगाडि सारेका छन् ।
कार्यक्रममा नवलपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले सडक विस्तारको काम छिटो गर्न मजदुरहरुको संख्या बढाउन निर्देशन गरे । त्यसैगरी सडक विस्तारको क्रममा विस्तारभन्दा पनि विनाश बढी देखिएको भन्दै १०÷१० किलोमिटर खण्डमा सडक विस्तार सक्दै अगाडि बढ्न पनि आग्रह गरे ।
नारायणगढ–बुटवल सडक योजना पूर्वी खण्डका योजना प्रमुख दिष्टीले पछिल्लो समय सडकमा काम गर्ने मजदुरको संख्या बढाएर ६ सय पु¥याइएको, वर्षा अगावै कल्भर्ड निर्माणको काम सक्ने गरी अगाडि बढिएको, वर्षा अगावै भत्किएका सडकहरु पुनर्निर्माण गर्ने गरी काम थालिएको बताए ।
सडक विस्तार ढिलो हुँदा १ देखि सवा १ घण्टामा पार गर्न सकिने नवलपुर सडक खण्ड पार गर्न ३ घण्टा बढी लाग्ने गरेको छ । जसले गर्दा यात्रुहरुलाई निक्कै सास्ती हुने गरेको छ । त्यसैगरी ठाउँ–ठाउँमा जीर्ण भएका सडकहरु मर्मत नहुँदा धुलोको प्रदुषणले यात्रुहरुले सास्ती खेप्नु परेको छ ।
६४ दशमलब ४२५ किलोमिटर सडक खण्ड रहेको नवलपुरमा १७.६ किलोमिटर ६ लेन, ४२.७ किलोमिटर ४ लेन, ४.१ किलोमिटर ३ लेन (दाउन्ने खण्ड), ठूला पुल १२ वटा, साना पुल २२ वटा र कल्भर्ट २१५ वटा निर्माण हुनेछन् ।