पुरानो कावासोतीबाट हसौरा जोड्ने बाटो गायब !

नवलपुर । पूर्वी नवलपरासीको कावासोती ३ पुरानो कावासोती बजार र कावासोती ४ हसौरा जोड्ने बाटो गायब भएको छ ।
नमुना सदरमुकाम बनाउन डिपिआर तयार पार्दा परम्परागत रुपमा चलिआएको बाटो नै गायव गरिएको हो ।
स्थानीयले यहाँका राजनीतिक दलका अगुवा र जनप्रतिनिधिहरुले डिपिआर तयार पार्दा पुरानो बाटो हो भन्ने कुरा डिपिआर तयार पार्ने प्राविधिक र सरकारी कर्मचारीलाई नबुझाउँदा यस्तो भएको आरोप लगाएका छन् ।
त्यसो त स्थानीयले उक्त बाटो कायम हुनु पर्ने भन्दै पटक पटक यहाँका स्थानीयतहदेखि प्रदेश र संघका जनप्रतिनिधिलाई जानकारी समेत गराएका थिए ।
केही दिन अगाडि कावासोतीमा जिल्ला प्रशासन कार्यालय नवलपुरले कावासोतीमा आयोजना गरेका अर्ध वार्षिक समिक्षा गोष्ठीमा सघन सहरी तथा घर निर्माण कार्यालय चितवनले सार्वजनिक गरेको डिपिआर नक्सामा उक्त बाटो नरहेको पाइएको थियो ।
सघन सहरी तथा घर निर्माण कार्यालय चितवनका प्रमुख कमल मणि खतिवडाले उक्त बाटो कायम नरहे पनि नजिकै अर्कोबाटोबाट निकास दिइएको बताए ।
त्यसैगरी नवलपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले आफूलाई उक्त क्षेत्रमा परम्परागत रुपमा कायम रहेको र हाल पनि चलन चल्तिमा रहेको बाटोको बारेमा कुनै जानकारी नभएको बताए ।
नमुना सदरमुकाम भित्र अहिले १० करोडको लागतमा सदरमुकाम भित्रको बाटोको ग्राभेल र माटो सहितको बाटो निर्माणको काम सकिएको छ ।
कावासोती ३ का वडा अध्यक्ष अमृत श्रेष्ठले आफैले नक्सामा उक्त बाटो कायम राख्नु पर्ने भन्दै पटक पटक पहल गरेपनि सार्थक नभएको बताए ।
बाटोको पिचमा अवरोध
कावासोती ३ पुरानो कावासोतीबाट हसौरा जोड्ने बाटो पिच गर्नका लागि अहिले नमुना सदरमुकामको नाममा अवरोध खडा गरेको छ ।
डिपिआरमा बाटो नपरेको र उक्त क्षेत्रमा सरकारी भवन बन्ने भन्दै बाटो कालोपत्रेका लागि अवरोध भएको हो ।
प्रदेश सभा सदस्य विष्णु लामिछानेले कावासोती ३ पुरानो कावासोतीदेखि हसौरा जाने बाटोको केरुङ्गे खोलामा निर्माणधिन पुलसम्म सडक पिचका लागि कावासोती ३ बाट बाटो कालो पत्रे गर्न १४ लाख बजेट विनियोजन गरेका थिए ।
उक्त बजेट टेण्डरमा गएर अहिले बाटो कालोपत्रे गर्नका लागि काम अगाडि बढाउने पर्नेमा काम रोकिएको छ ।
पूर्वाधार विकास कार्यालय नवलपुरका शोभा आचार्यले आफूले बजेट फिर्ता जान सक्ने भन्दै बाटो पिचका लागि प्रक्रिया अगाडि बढाउँदा कावासोती ३ पुरानो कावासोती क्षेत्रबाट बाटो कालो पत्रे गर्न नपाएको बताए ।
उनले भने – नमुना सदरमुकाम भित्र डिपिआर बाहेकका कुनै पनि काम नहुने गरी रोकिएकोले नमुना सदरमुकाम बाहिर परेको बाटो केरुङ्गे खोलामा बन्दै गरेको पुलबाट दक्षिणतर्फबाट बाटो कालोपत्रे गर्नु पर्ने अवस्था आएको छ ।
साविकको बाटो कायम गर्न स्थानीयका माग
कावासोती ३ पुरानो कावासोती र कावासोती ४ हसौराका बासिन्दाले साविकको पुरानो बाटो कायम गरिनु पर्ने र उक्त बाटो नै भएर पुरानो कावासोती र हसौरा आउजाउको बाटो हुनु पर्ने माग गरेका छन् ।
एक जना कानुनी अधिवक्ताका अनुसार चलनचल्तीको बाटो मास्न नपाइने भएकोले उक्त बाटो हटाइने कानुन विपरित भएको बताए ।
हसौरा कावासोती जोड्ने बाटोको दुई हात परबाट खोलिएको अर्को बाटोमा जोडेर भए पनि कावासोती हसौराको बाटो निकास दिनु पर्ने स्थानीयको माग छ ।
उक्त बाटो कावासोतीमा पहिलो पटक बस्ती बस्दादेखि नै चलन चल्तीमा आएको बाटो हो ।