स्थानीय तहको निर्वाचन मर्यादित बनाउन नवलपुरका राजनीतिक दल एक मत

नवलपुर । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मर्यादित बनाउन नवलपुरका राष्ट्रिय मान्यता प्राप्त दलहरु एक मत भएका छन् ।
जिल्ला प्रशासन कार्यालय नवलपुरले जिल्ला प्रशासन कार्यालयमा आयोजना गरेको वैठकमा उनीहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन केन्द्रित वैठकमा नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत सवाजवादी पार्टीका प्रमुख एवम् प्रतिनिधिका साथै नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रमुखहरुको सहभागिता रहेको थियो ।
वैठकले स्थानीय तह निर्वाचनका लागि खटिने मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका कार्यालयबाट हुने काम कारवाही सहयोग गर्ने गराउने, निर्वाचन केन्द्रित प्रचारप्रसारका कार्यक्रम तथा आमसभा गर्दा एक अर्का बीच समन्वय गरेर गर्ने निर्णय गरेको छ ।
त्यसैगरी कोभिड १९ को जोखिम कायमै रहेकोले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर प्रचारप्रसारका कार्यक्रम गर्ने, निर्वाचान आचारसंहिता पूर्ण रुपमा कार्यान्वयन गर्ने, निर्वाचनलाई शान्तिपूर्ण र मर्यादित बनाउने निर्णय भएको नवलपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए ।