१९१ ग्राम खैरो हेरोइनसहित १२ जना पक्राउ


 



 

लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर)कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ।

 




लागुऔषध नियन्त्रण ब्युरोले १२ जनालाई १९१ ग्राम ७१० मिलिग्रामसहितपक्राउ गरेको प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए।

 

 

उपत्यकामा लागुऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा ब्युरोको टोली खटिएको थियो। उनीहरूलाई प्रहरीले विभिन्न मितिमा पक्राउ गरेको प्रहरी उपरीक्षक श्रेष्ठले बताए।

 

गत फागुन २३ गते काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका-७बाट ३३ वर्षीय विक्रम नगरकोटी, २१ वर्षीय रोजन बस्नेत र ४६ वर्षीय माधवप्रसाद दाहाललाई पक्राउ गरेको थियो। उनीहरू सँगै बसिरहेका थिए। विक्रमबाट प्रहरीले १५० मिलिग्राम खैरो हेरोइन बरामद गरेको ब्युरोले जनाएको छ।

 

 

विक्रमसँगै कारोबारमा संलग्न भएको आरोपमा ब्युरोले काभ्रे घर भएकी ३० वर्षीया देवी सिंह तामाङलाई भक्तपुरको चाँगुनारायण-४बाट १७० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको थियो।

 

उनीसँग सोधपुछ गरी प्रहरीले मोरङकी ३१ वर्षीय कविता गुरूङ र काभ्रेका ३३ वर्षीय मिलन लामालाई सोही दिन सँगै पक्राउ गरेको थियो। उनीहरूलाई कविताको कागेश्वरीस्थित डेराबाट ६५.५ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको ब्युरोले जनाएको छ।

 

यस्तै, कवितालाई खैरो हेरोइन उपलब्ध गराउनेको पनि प्रहरीले खोजी गरेको थियो। प्रहरीले खोज्दा सुनसरीका २२ वर्षीय मिथुनकुमार यादव र १९ वर्षीय प्रमोदकुमार सरदार पक्राउ परे। उनीहरूलाई विराटनगरको शाखाबाट खटिएको टोलीले पक्राउ गरेको प्रहरी उपरीक्षक श्रेष्ठले बताए।

 

 

उनीहरूलाई प्रहरीले खैरो हेरोइन ९६ ग्राम  ७९० मिलिग्रामसहित फागुन २७ गते पक्राउ गरेको थियो। अनुसन्धानको लागि उनीहरू जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा छन्।

 

 

त्यसैगरी, २६ गते सिन्धुपाल्चोकका २५ वर्षीय रोमन भण्डारी र दोलखाकी २५ वर्षीया प्रज्ञा कार्कीलाई पनि प्रहरीले काठमाडौंको कागेश्वरी नगरपालिका-५स्थित उनीहरूको डेराकोठाबाट पक्राउ गरेको हो। उनीहरूबाट २९ ग्राम खैरो हेरोइन बरामद भएको थियो।

 

 

यसको कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले भारत पश्चिम बंगाल मेदनापुरका २९ वर्षीय मजाहिद राजालाई पनि १०० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको थियो।

 

 

सिन्धुपाल्चोकका ३८ वर्षीय राजेश नेपाललाई पनि प्रहरीले यसमा संलग्न रहेको आरोपमा काठमाडौं-३२बाट पक्राउ गरेको हो।

 

 

उनीहरूमाथि लागु औषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान गरिरहेको ब्युरोले जनाएको छ।

 

 



सम्बन्धित
Loading...