भरतपुर महानगरले बाँड्यो ६० छात्रालाई साइकल


 



भरतपुर महानगरपालिकाले महानगरका वडा नं–१८, १९ र २० का गरी ८ विद्यालयका ६० जना विद्यार्थीहरुलाई साइकल वितरण गरेको छ । भरतपुर–२० को भीमनगरमा रहेको भीमनगर माध्यमिक विद्यालयमा एक कार्यक्रम गरी दाहालले विपन्न परिवारका छात्राहरुलाई साइकल वितरण गरेकी हुन् ।

 

 

जोखिममा परेका महिलासँग मेयर कार्यक्रमअन्तर्गत विद्यालय शिक्षामा छात्राहरुको शैक्षिक निरन्तरताका लागि लक्षितवर्गका किशोरीहरुलाई साइकल हस्तान्तरण गरिएको हो । महानगरको यसै आर्थिक वर्षको योजनाअन्तर्गत साइकल हस्तान्तरण गरिएको हो ।

 

 




यस आर्थिक वर्षमा १० वटा वडामा २०० साइकल वितरण गर्ने योजना रहेको र अघिल्लो आर्थिक वर्षमा १२ वटा वडामा ३२४ वटा साइकल हस्तान्तरण गरिएको मेयर रेनु दाहालले बताइन् ।

 

 

 

‘पढाइ राम्रो तर आर्थिक अवस्थाले, घरायसी समस्याले पढाइ छोड्ने समस्या देखियो’, दाहालले भनिन्, ‘विद्यालय टिकाउन महानगरमार्फत पठनपाठनमा निरन्तरता होस् भनेर यो कार्यक्रम गरेका हौँ ।’

 

 

दैनिक ज्यालादारी काम गरेर खाने परिवारका छात्राहरु, टाढा–टाढाबाट विद्यालय आउने छात्राहरुलाई सहज होस्, छात्राहरु नियमित विद्यालय आउन उत्प्रेरित होऊन् भन्ने उद्देश्यले साइकल वितरण गरिएको उनले बताइन् ।

 

 

मेयर दाहालले महानगरका विद्यालयलाई छात्रामैत्री र प्रविधिमैत्री बनाउन लागिपरेको बताइन् । महानगरका आधारभूत विद्यालयलाई ल्यापटप वितरण थालेको र सबै विद्यालयहरुमा इन्टरनेटको प्रबन्ध गरिने उनले बताइन् । १ सय २३ वटा सामुदायिक विद्यालयमध्ये ६० वटा विद्यालयको भौतिक संरचना निर्माण अहिले महानगरले गरिरहेको उनले बताइन् ।

 

 

 

उपमेयर पार्वती शाह ठकुरीले विपन्न परिवारका छात्राहरुलाई लक्षित गरी गरिएको यो कार्यक्रमले छात्राहरुलाई विद्यालयमा निरन्तरता दिलाउन धेरै प्रभावकारी हुने बताइन् ।

 

 

महानगरका प्रवक्ता अरूण पीडित भण्डारीले भरतपुर महानगरका विद्यालयहरुको शैक्षिकस्तरदेखि भौतिक सुधारमा महानगर लागिपरेको भन्दै सरकारी विद्यालयहरुलाई विद्यार्थीको प्रमुख रोजाइको केन्द्रका रुपमा विकास गर्ने गर्ने महानगरको लक्ष्य रहेको बताए ।

 

 

महानगरका निमित्त प्रशासकीय अधिकृत प्रमुख महेन्द्र पौडेलले पछाडि परेका समुदायका छात्राहरुको शैक्षिक निरन्तरताको दर कम भएकाले विद्यालय तहको शिक्षा पूरा गराउने दायित्व स्थानीय सरकारको रहेकाले यो कार्यक्रम प्रभावकारी हुने बताए ।

 

 

साइकलका कारण विद्यालय जान–आउन सजिलो हुने र यसले गर्दा पढाइलाई निरन्तरता दिन सहज हुने छात्राहरुले बताए । भीमनगर माविमा कक्षा १ मा पढ्ने छात्रा सायरा खातुनले महानगरले आफूलाई साइकल दिँदा निकै खुसी लागेको बताइन् । साइकल पाएपछि विद्यालय जान–आउन सजिलो हुने र यसले गर्दा पढाइमा पनि निरन्तरता दिन सहज हुने उनले बताइन् ।

 

 

 

भीमचन्द्र आधारभूत विद्यालय, चन्द्रनगर कक्षा २ मा पढ्ने विद्यार्थी मञ्जु परियारले घरबाट स्कुल जाँदा धेरै किताब बोकेर जानुपर्ने, घरमा काम गरेर जाँदा ढिला पनि हुने हुँदा अब भने साइकल भएपछि बेलैमा विद्यालय जान सजिलो हुने उनले बताइन । साइकल पाएपछि पठनपाठन पनि निकै सहज हुने उनले बताइन् ।

 

 

वितरण कार्यक्रममा भरतपुर महानगरपालिका–२० का कार्यवाहक वडाध्यक्ष यज्ञप्रसाद घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रममा भीमनगर माविका प्रधानाध्यापक कोमलनाथ घिमिरे, सामाजिक विकास अधिकृत कलावति ओझा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीलाल अधिकारीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।



सम्बन्धित
Loading...