नवलपुरमा १०३० म्यादी प्रहरीको भर्ना खुल्यो

जिल्ला प्रहरी कार्यालय नवलरासी(पूर्व)ले म्यादी प्रहरीका लागि भर्ना खुलाएको छ। आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नवलपुरमा म्यादी प्रहरीको भर्ना प्रकृया अगाडि बढाईएको हो।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आवश्यक पर्ने १ हजार ३० जना म्यादी प्रहरीको लागि भर्ना खुलाईएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का प्रवक्ता डिएसपी दिलिप कुमार गिरीले जानकारी दिए।
म्यादी प्रहरीका लागि १८ वर्ष पुरा भई ५४ वर्ष ननाघेका नेपाली नागरीकले नि:शुल्क रूपमा दरखास्त बुझाउन सक्नेछन् । दरखास्त दिन आउँदा नेपाली नागरिकताको प्रतिलिपि र ५ थान पासपोर्ट साईजको फोटो लिएर आउन समेत गिरिले आग्रह गरे।
नेपाल सरकारले छनोट गर्ने छनोट प्रक्रियामा विशेष गरी पूर्व नेपाल प्रहरी, ससस्त्र प्रहरी, नेपाली सेनालाई प्रथमिकता दिइने छ ।
म्यादी प्रहरीका लागि चैत ६ गतेदेखि ११ गतेसम्म जिल्ला प्रहरी कार्यालय कावासोतीमा उपस्थित भई दरखास्त दिन सकिनेछ ।
प्राप्त भएका आवेदनहरूको छनौट चैत्र १६ गतेबाट शुरू हुनेछ। चैत्र २२ गते १ हजार ३० जना म्यादी प्रहरीको अन्तिम नतिजा प्रकाशन गर्नेगरि तयारी भएको गिरीले बताए। छनौट भएका म्यादी प्रहरीको लागि चैत्र २८ देखि १५ दिनको तालिम सञ्चालन हुनेछ।
भर्ना भएका म्यादी प्रहरीले ४० दिन काम गर्न पाउनेछन । ४० दिनसम्मको मासिक ३० हजार २४० रुपैयाँ पारिश्रमिक निर्धारण गरिएको छ । पारिश्रमिकका साथै प्रत्येक म्यादी प्रहरिले खाद्यान्नवापत ७ हजार २००,पोशाक तथा अन्य खर्च गर्ने गरि ६ हजार, यातायात खर्चवापत एक हजार र बिमा सुविधाको व्यवस्था गरिएको छ ।