अहिलेको संघिय संरचनामा हाम्रो सहमति छैनः जनजाति महासंघ

रामकुमार श्रेष्ठ –
नवलपरासी, ८ चैत्र । नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषदका अध्यक्ष जगत बरामले अहिलेको संघीय संरचनामा आदिवासी जनजातिको विमति रहेको बताउनुभएको छ ।
मंगलबार कावासोतीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष जगत बरामदले पहिलो संविधान सभाको निर्वाचनमा राज्य पुनसंरचना निर्माण समितिले पेश गरेको ११ प्रदेशका संरचना अनुसारको संरचना निर्माण हुने पर्ने बताए ।
नेपाल आदिवासी जनजाति महासंघको भोलिदेखि कावासोतीमा हुने १० औं राष्ट्रिय महाधिवेशनको पूर्व सन्ध्यामा कावासोतीमा पत्रकार सम्मेलन गरिएको हो ।
पत्रकार सम्मेलनमा महाअधिवेशन चैत्र ९ र १० गते गरी दुई दिन सम्म चल्ने र महाधिवेशनमा देशबाहिर रहेको शाखा, देश भित्रका जातीय संगठनका प्रतिनिधि लगायतका गरी ४ सय २० जना प्रतिनिधि र २ सय प्रवेक्षक सहभागी रहने अध्यक्ष बरामले जानकारी दिए ।
प्रत्येक ३/३ बर्षमा हुनु पर्ने आदिवासी जनजाति महासंघको महाधिवेशन पछिल्लो पटक ५ बर्षमा हुन लागेको हो । कोभिडका कारण आदिवासी जनजाति महासंघले महाधिवेशन गर्न सकिरहेको थिएन ।
महाधिवेशनले ५६ जना महिला र ५६ जना पुरुष सहितको १ सय १२ सदस्यीय नयाँ केन्द्रिय समिति चयन गर्ने छ । यस पटक पदाधिकारीकाे संख्या बढाउने तयारी भइरहेकाे अध्यक्षा बरामले बताए ।
महाधिवेशनको उद्घाटन पूर्व कावासोतीको फलफूल चोकदेखि कार्यक्रम स्थल पानस होटलसम्म आदिवासी जनजातिका जातजातिका झाँकी सहितको र्याली निकालिने छ ।
