पदाधिकारी चयनका लागि आदिवासी जनजाति महासंघमा कांग्रेस गयो एमालेको गठबन्धनमा

१० चैत, काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघको महाधिवेशनमा नेकपा एमाले र नेपाली कांग्रेस निकट संगठनबीच गठबन्धन हुने भएको छ ।
नवलपरासीमा जारी महासंघको १० औं महाधिवेशनमा नेतृत्व छान्ने तयारी भइरहँदा एमाले र कांग्रेसले एउटै ‘प्यालन’ बनाएर चुनाव लड्ने तयारी गरेका हुन् ।
एमाले नेता पासाङ शेर्पाले एमाले र कांग्रेस निकट संगठनबाट एउटै प्यानल बनाएर प्रतिस्पर्धा गर्ने गरी छलफल भइरहेको जानकारी दिए । ‘सबै टुंगिसकेको छैन, अहिले छलफल गरिरहेका छौं,’ उनले भने । नाम टुंग्याउनेबारे छलफल भइरहेको उनले बताए ।
कांग्रेसलाई अध्यक्ष दिएर अन्य पदाधिकारी एमालेले लिने तयारी गरिरहेको छ । महाधिवेशनमा नेतृत्व चयनका लागि बिहीबार नै उम्मेदवारको मनोनयन दर्ता हुने छ ।
कांग्रेस र एमालेले एउटै प्यानल बनाउने भएपछि माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी निकट संगठनको अर्को प्यानल बनाउने तयारी भइरहेको छ ।
‘कांग्रेस एमालेका नेताहरु नै प्यानल बनाउन लागि परेका छन्,’ माओवादी केन्द्रनिकट एक नेताले भने, ‘उनीहरुले प्यानल बनाएपछि अब हाम्रो पनि प्यानल बन्छ ।’
महासंघको चुनावमा यसअघि पनि एमाले र कांग्रेस एकै प्यानल बनाएर प्रतिस्पर्धा गर्ने गरेका थिए ।
स्रोतका अनुसार एमाले काँग्रेस गठबन्धनले ग्याल्जिङ्ग शेर्पाको नेतृत्वमा प्यानल बनाउने तयारी गरिरहेको छ भने अन्य दलहरुले किरण सुनुवार वा गोविन्द छन्त्यालको नेतृत्वमा अर्को गठबन्धन गराउने तयारी गरेको छ ।
गएराति पारित विधान अनुसार अब बन्ने नेतृत्वमा २१ सदस्यीय पदाधिकारी अर्थात २१ सदस्यीय सचिवालय हुने छ । जस अन्तरगत अध्यक्ष १, सहअध्यक्ष १, ३ महिला सहित उपाध्यक्ष ७, महासचिव १, उपमहासचिव १, ४ महिला सहित सचिव ८, कोषाध्यक्ष १ र सहकोषाध्यक्ष १ गरी २१ जनाको सचिवालय गठन हुने छ ।
६४ जातीय संगठनबाट १/१ जना सहितका ५६ सदस्यीय संघीय परिषद सदस्य भने सर्वसम्मत चयन भईसकेको छ । पदाधिकारी अर्थात सचिवालय त्यही ५६ जनाबाट चयन हुने छन् भने ५६ जनाले नै सचिवालय गठनका लागि मतदान प्रयोग गर्ने छन् ।
नवलपुरका बोटे उपाध्यक्ष
नवलपुरका ज्ञानबहादुर बोटेले उपाध्यक्षमा उमेदवारी दिने भएका छन् । उनी बोटे समाजबाट संघीय परिषद सदस्य चयन भईसकेका छन् । उनको पदमा सहमति नजुटे उनले एमाले काँग्रेस गठबन्धनबाट उमेदवारी दिने सम्भावना छ । उनी यस अघि पनि आदिवासी जनजाति महासंघका केन्द्रिय उपाध्यक्ष भईसकेका छन् ।