चेपाङ वस्तीको घर जलायो निकुन्ज प्रशासनले


 



चितवन राष्ट्रिय निकुञ्जको कोर क्षेत्र अतिक्रमण गरेको भन्दै माडी नगरपालिका–९ कुसुमखोलाका चेपाङका घरगोठ जलाइएको छ । निकुञ्जको सेनाको टोलिले आइतबार साँझ चेपाङका घरगोठमा आगजनी गरेको हो ।स्रोतकाअनुसार निकुञ्जका सहायक संरक्षण अधिकृत प्रमोद कुमार यादवको नेतृत्वमा गएको सेनाको टोलीले घरगोठमा आगजनी गरेको हो ।

 




स्थानीयले बताएअनुसार करिब १५ घरमा आगजनी भएको माडी नगरपालिकाका मेयर ठाकुर ढकालले बताए । आगजनी पछि मेयर ढकालसहितको टोली आगजनी भएको स्थानमा निरीक्षणका लागि गएको थियो ।अँधेरो भइसकेकाले घर गन्न नसकिएको भन्दै उनले एक पुरानोसहित केहि नयाँ घरमा आगजनी भएको बताए ।

 

 

 

कुसुमखोलामा २०४८ सालदेखि बसोबास गर्दै आएका चेपाङलाई माडी नगरपालिकाले गत वर्ष स्थानान्तरण गरेको थियो । अहिले फेरि गएर बनाइएका नयाँ घरमा निकुञ्जको सेनाले आगजनी गरिदिएको हो ।‘धेरैलाई त्यहाँबाट हामीले स्थानान्तरण गरेर तल ल्याइसकेका छौँ । अहिले फेरि केहि मान्छेहरु त्यहाँ गएर बस्न थाल्नुभएको रहेछ’, उनले भने, ‘त्यहाँ बस्नुहुन्न । तल ल्याउनुपर्छ भनेर हामी सल्लाहमै थियौँ ।

 

तर हिजो त्यहाँ गएर हामीसँग समन्वयन नगरी आगजनी गर्ने काम भयो । बस्न नहुने ठाउँ भएपनि आगजनी गर्न हुन्नथ्यो ।’एउटा घरमा नागरिकतालगायतका महत्वपूर्ण कागजातसहित आगजनी गरिएको भन्ने जानकारी आएको उनी बताउँछन् ।माडीका अगुवा स्थानीय श्रीप्रसाद दवाडीले स्थानीयले आकाश भुजेलको घर र नागरिकता समेत जलाइदिएको आफूलाई जानकारी आएको बताउनुभयो ।

 

 

स्थानान्तरण गरेर ल्याइसकिएका केहि मान्छे फेरि फर्किएर सोहि ठाउँमा गएको र अधिकांश मान्छे जिल्ला बाहिरबाट आएर बसोबास गर्न थालेको उनले बताए । कुसुमखोलामा फेरि २५ भन्दा बढी घर बनाइसकेका छन्, जसमध्ये करिब १० वटामा मान्छे बसोबास गर्ने गरेको उनी बताउँछन् ।

 

स्थानीय पुराना बासिन्दा काजीमान प्रजाबाहेक सबैको घर नयाँ बनाएको पाइएको उनले बताए । गत वर्ष निकुञ्ज प्रशासनले घरगोठमा आगजनि गरिदिएपछि पनि उनी स्थानान्तरण हुन मानेका थिएनन् ।आफुलाई छ कठ्ठा जग्गा नदिएसम्म स्थानान्तरण भएर नजाने उनले अडान लिँदै आएका छन् ।

 

 

नगरपालिकाले दिने एक कठ्ठामा खेतीपाती गर्न नपुग्ने भन्दै उनले स्थानान्तरण हुन नमानेको मेयर ढकालले बताए । नगरपालिकाले गत वर्ष कुसुमखोलाका २५ घरलाई बगई, ८० घरलाई राई डाँडा र ४२ घरलाई परुई खोला किनारमा ल्याएर स्थानान्तरण गरेको थियो ।

 

 

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले निकुञ्जको कोर इलाकामा बसोबास गरेका मान्छेलाई पटक–पटक नबस्न आग्रह गर्दा पनि नयाँ घरगोठ बनाउने क्रम नरोकिएपछि आगजनी भएको बताउँछन् । घटनाको आधिकारीक जानकारी हेडक्वार्टरमा नआएको उनले बताए ।

 

 

‘एकचोटि त्यहाँबाट स्थानान्तरण गरिसकिएको हो । फेरि पनि निकुञ्जको क्षेत्र कब्जा गर्नेगरी नयाँ घर टहरा बनाइएको थियो । हामीले बारम्बार त्यहाँ गएर हटाउने गरको थियौँ’, उनले भने, ‘आफ्नो क्षेत्राधिकार खाली गर्न मान्छे नबसेका सामान्य घरटहरामा आगजनी गरेको भन्ने कुरा आएको छ ।’

 

निकुञ्जले यसअघि ३ साउन २०७७ मा पनि कुसुमखोलामा बसोबास गर्दै आएका चेपाङका दुई घरमा आगजनी र आठ हात्ती लगाएर भत्काएको थियो । त्यसपछि माडी नगरपालिकासँगको समन्वयमा कुसुमखोलाका चेपाङलाइ स्थानान्तरण गरिएको थियो ।

 

 



सम्बन्धित
Loading...