प्रहरी नै झुक्किए, विप्लवका सेक्रेटरी मानेर प्रहरीले छोरालाई पक्राउ गरेपछि!
नवलपरासी । नवलपुरमा विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरुलाई पक्राउ गर्ने क्रमलाई तिब्रता दिएको प्रहरीले जिल्ला सेक्रेटरी सम्झेर उनका छोरालाई नियन्त्रणमा लिएको छ ।
विप्लव नेतृत्वका नेकपा नवलपुरका जिल्ला सेक्रेटरी विरबहादुर थापा विश्वास मानेर उनका छोरा दीपक थापालाई पक्राउ गरेको हो ।
उनलाई प्रहरीले बुधबार साँझ उनकै घर कावासोती–५ अठ्ठाइविगाहाबाट पक्राउ गरेको हो । नवलपुरमा प्रहरीले विप्लवका नेता तथा कार्यकर्ताहरुलाई पक्राउ गर्ने क्रम बढाएपछि अधिकांश नेता तथा कार्यकर्ताहरु भूमिगत भएका छन् ।
सादा पोशाकमा गएको प्रहरीले साँझ विश्वासका छोरालाई उनकै घरबाट पक्राउ गरेको हो ।
पक्राउ परेका थापालाई प्रहरी बुधबार साढे ८ बजेतिर उनकै आमाको जिम्मा लगाएर छाडेका थिए ।
नवलपुरमा प्रहरीले मंगलबार साँझ विप्लव नेतृत्वको नेकपाका जिल्ला कार्यकर्ता धनबहादुर मर्दिनियालाई प्रहरीले सोमबार राति उनकै घरबाट नियन्त्रणमा लिएको थियो ।
मर्दनिया नेकपाका जिल्ला सदस्य हुन् । कावासोती १५ शेरगञ्ज निवासी मर्दनिया सेन्टपोल बोडिङ्ग स्कूल गोछडाका शिक्षक समेत हुन् ।
त्यसैगरी प्रहरीले नवलपुरकै जनपरिषद प्रमुख दानबहादुर आचार्यलाई मंगलबार दिउँसो पक्राउ गरेको थियो ।
त्यस्तै प्रहरीले सोमबार राति विप्लवको नेकपा नवलपरासीका इन्चार्ज गंगा ज्ञवाली सुमनलाई पनि पक्राउ गरेको छ भने पश्चिम नवलपरासीबाट गणेश ढकाललाई पक्राउ गरेको छ ।