कोभिडका कारण आफन्त गुमाएका परिवार राहत लिंदा भक्कानिएर रोए

कावासोती नगरपालिकाले कोभिडका कारण ज्यान गुमाउनको परिवारलाई राहत रकम वितरण गर्दा तिनका परिवारहरु भक्कानिएर रोएका थिए ।
कोभिडका कारण आफन्त गुमाउनुका पीडा एकातिर त छदैछ भने अर्को तिर कतिपय परिवारको मुख्य मुली नै गुमाएका छन् जसले गर्दा घरको आम्दानीको स्रोत नै बन्द भएको छ ।
नगरपालिकाले उपलब्ध गराएको प्रति परिवार ५० हजार रुपैयाँ उनीहरुका लागि नाम मात्रको राहत भए पनि कोभिडले आफन्त गुमाएकाहरु एकै ठाउँमा जम्मा हुँदा उनीहरुको पीडा पोख्ने थलो र मन हल्का बनाउने थलो बनेको थियो ।
राहत रकम वितरण गर्न पुगेका संघीय सांसद तिलक महत, नगर प्रमुख चन्द्रकुमारी पुन लगायतसँग आफ्नो दुखेसो पोख्दै उनीहरु भक्कानिदै रोएका थिए ।
नवलपुरको कावासोती नगरपालिकाले कोभिड – १९ सङ्क्रमणबाट मृत्यु भएका व्यक्तिका परिवारलाई आर्थिक सहयोग (राहत) रकम प्रदान गरेको हो ।
मंगलबार एक औपचारिक कार्यक्रमका बीच मृतकका हकवाला आफन्तलाई राहत रकमको चेक हस्तान्तरण गरिएको थियो । संघीय सासंद तिलक महतले मृतकका आफन्तलाई ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेका थिए ।
कावासोती नगरपालिकाले नगरभित्रका कोभिड सङ्क्रमणबाट मृत्यु भएका व्यक्तिका परिवारलाई ५० हजार रुपैयाँ राहत प्रदान गर्ने निर्णय गरेको थियो । सोही अन्तरगत मंगलबार ६९ जनाको परिवारलाई प्रति परिवार उक्त रकम बराबरको चेक हस्तान्तरण गरिएको हो । कोभिडको पहिलो , दोश्रो र तेश्रो भेरियन्टका कारण मृत्यु भएका परिवारलाई राहत रकम प्रदान गरिएको हो ।
कार्यक्रममा बोल्दै संघीय सांसद महतले कावासोती नगरपालिकाले गरेको यस कार्यले जनताबाट चुनिएका जनप्रतिनिधिले जनताको हरेक सुख दुःखमा साथ दिन्छन् भन्ने सन्देश दिएको बताए । रकम सानै भए पनि यसबाट केही न केही राहत हुने र जनप्रतिनिधि र स्थानीय सरकार जनताको पिरमर्कामा संगसंगै छ भन्ने आभाष दिलाउने उनले बताए ।
यस्तै कावासोती नगरप्रमुख चन्द्र कुमारी पुनले विपदले धेरै परिवार प्रभावित बनेको र कतिपयले ज्यान गुमाउनु पर्दा जनप्रतिनिधि लगायत सबैलाई दुःख तुल्याएको बताए ।
उनले बिस्तारै बिस्तारै दुःखलाई बिर्सेर आफ्नो मनलाई सम्हालेर आत्मविश्वासका साथ जीवनमा अघि बढ्न सबैमा आग्रह गरे । उनले सानो भएपनि नगरले दुःखमा हामीलाई सम्झियो भन्ने सोचेर सहर्ष रुपमा सहयोग स्वीकार गर्न समेत अनुरोध गरे ।
यस्तै कावासोती नगरपालिकाका उपप्रमुख प्रेमशंकर मर्दनिया थारूले कोभिड – सङ्क्रमणको सुरुको वर्षमा नगरका स्थानीय बासीलाई सिमानाकाबाट ल्याउने देखि क्वारेन्टाइन व्यवस्थापनमा त्यो समयमा जनप्रतिनिधि र सम्बन्धित सबै दिनरात नभनी लागेको स्मरण गरे ।
उनले भने – आफन्त गुमाउँदाको पीडा सानो सहयोगले भर्न त सक्दैन तर, बेच्नेहरु जीवनयापन गर्नै पर्ने हुँदा दुःखलाई बिर्सेर संघर्ष गरेर अगाडि बढ्नु पर्दछ ।
नगर प्रमुख चन्द्र कुमारी पुनको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राकेश गुरुङ, शिक्षा शाखा प्रमुख क्षेत्र बहादुर भण्डारी, स्वास्थ्य शाखा प्रमुख कृष्ण नागीला लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा सहजीकरण पारेश्वर भुर्तेलले गरेका थिए ।


