कुलमानलाई प्रचण्डले भने – चितवनमा ४० वर्षसम्म धान्ने पूर्वाधार बनाउनुस्




नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चितवनमा आगामी ४० वर्षसम्मको लोड धान्न सक्ने गरी विद्युतको पूर्वाधार बनाइदिन नेपाल विद्युत प्राधिकरणका सीईओ कुलमान घिसिङलाई आग्रह गरेका छन् ।

 

आज चितवनको राप्ती नगरपालिकामा निर्मित हर्दी सबस्टेशनको उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले कुलमानलाई सो आग्रह गरेका हुन् ।

 




अहिलेको सब स्टेशनले दुई-तीन वर्ष धान्ने र त्यसपछि फेरि समस्या आउन सक्ने कुरा आफूले सुनेको बताउँदै प्रचण्डले विद्युत प्राधिकरणको सीईओ पदमा रहँदै कुलमानलाई थप पूर्वाधार बनाउने प्रक्रिया अघि बढाइदिन आग्रह गरेका हुन् ।

 

‘यो १३२ केभी सबस्टेशनले केही वर्ष त धान्छ । तर दुई-तीन वर्षपछि फेरि समस्या आउनसक्छ । त्यसैले त्यस नजिकै फेरि अर्को सबस्टेशन बनाउनुपर्छ,’ प्रचण्डले भने ।

 

मकवानपुर, चितवन र नवलपुरलाई समेटेर विकासको नयाँ मोडेलबारे सोचिरहेको पनि प्रचण्डले सुनाए । ‘पूरै चितवन, मकवानपुर र नवलपुरसम्मलाई जोडेर विकास प्राधिकरणको अवधारणाबाट छलफल गर्दैछौं,’ प्रचण्डले भने, ‘नारायणीमा धेरै पुलहरु बनाएर विकासलाई नयाँ गति दिन सकिन्छ ।’ उनले भौतिक पूर्वाधार विकासमा सहयोग गर्न स्थानीयवासीलाई आग्रहसमेत गरे ।

 

प्रचण्डले भने : भरतपुरको मेयरमा हाम्रो दाबी कायमै

 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको भरतपुर महानगरपालिकाको मेयरमा आफ्नो पार्टीले दाबी रहेको बताएका छन् ।

चितवनमा आज पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले भने, ‘भरतपुर चितवनमा हाम्रो दाबी छँदैछ ।’ पत्रकारहरुले चुनावी तालमेल र भरतपुर महानगरमा पार्टीको धारणाबारे प्रचण्डसँग जिज्ञासा राखेका थिए ।

 

प्रचण्डले महानगरपालिका र उपमहानगरपालिकामा सकेसम्म केन्द्रबाट तालमेल गर्ने भन्ने विषयमा सत्ता गठबन्धनमा छलफल भइरहेको जानकारी दिए । त्यसका लागि बिहीबार गठबन्धनको बैठक बोलाइएको जानकारी पनि उनले दिए ।

‘महानगरपालिका र उपमहानगरपालिकालाई सकेसम्म केन्द्रबाट नै तालेमलबाट गर्ने भन्ने छलफल चलिरहेको छ । भोलि हामी गठबन्धनको बैठक बस्दै छौं,’ प्रचण्डले भने ‘सम्भवतः महानगरको बारेमा केही न केही निर्णयमा पुग्छौं । तालमेलकै निर्णय हुन्छ ।’

हाल भरतपुर महानगरपालिकाको मेयरमा प्रचण्डकी छोरी रेनु दाहाल छिन् ।



सम्बन्धित
Loading...