कावासोतीमा मेयरः काँग्रेसबाट १ दर्जन बढी आकांक्षी




कावासोती । स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा यसको सरगर्मी नेपाली काँग्रेस भित्र समेत बढ्दै गएको छ । नवलपुर जिल्लाकाे सदरमुकाम रहेकाे कावासाेती नगरपालिकामा काँग्रेसबाट १ दर्जन बढी अाकांक्षी देखिएका छन्।

 

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन आफ्नो पक्षमा पार्न दलहरू जनताका घरदैलोमा पुग्न थालिसकेका छन् । तर उम्मेद्वार भने को हुने अझै निश्चित छैन । तर कतिपयले आफ्नो उम्मेदवारी हुने घोषणा सामाजिक संजालबाट गर्न थालिसकेका छन् ।

 




नवलपुरको ८ वटा स्थानीय तह मध्य कावासोती नगरपालिकामा समेत स्थानीय तहको सरगर्मी बढ्दै गएको छ । यहाँ मुख्य प्रतिस्पर्धी दल एमाले र काङ्ग्रेस मध्य एमालेले सार्वजनिक रुपमा आफ्नो उम्मेदवारी घोषणा नगर्न निर्देशन दिएको बेला कांग्रेसबाट भने मेयर पदमा उम्मेदवारीको आकांक्षा व्यक्त गर्ने बढ्न थालेका छन् ।

 

मंगलबार मात्रै काङ्ग्रेस नेता दुर्गा रिजालले कावासोती नगरपालिकाको मेयरमा आफ्नो उम्मेदवारी रहने र सहयोग गर्न अपिल गर्दै सामाजिक सञ्जालमा पोष्ट गर्नुभएको छ ।

 

मंगलबारै कांग्रेसका नेता सुरज गुरुङले स्थानीय निर्वाचन नजिक आइरहेको समयमा अग्रजहरू, साथीभाइहरू एवं नगरवासीबाट नगरको मेयरमा अघि सर्ने होइन भन्ने प्रश्नले लखेटिरहेको भन्दै घुमाउरो रुपमा आफू पनि आकांक्षी हुन सक्ने संकेत गर्नुभएको छ । उहाँको लेखाइलाई स्थानीय मतदाताको आकांक्षा , मनोभाव बुझ्ने र सोही अनुसार निर्णय लिन खोजिएको रुपमा हेरिएको छ ।

 

यसैगरी कांग्रेसका अर्का नेता ऋषी कँडेलले यस अघिनै आफ्ना ४५ बुँदे प्रतिवद्धता सहित मेयरमा उम्मेदवारी दिने आकांक्षा सामाजिक संजालबाट सार्वजनिक गरि सक्नु भएको छ ।

निर्वाचन नजिकिँदै जाँदा काङ्ग्रेस भित्र समेत कावासोती मेयर को बन्ने भन्ने सरगर्मी चढ्न लागेको छ । यस अघिको स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्नुभएका काङ्ग्रेस नेता महेन्द्र पोख्रेल फेरि उम्मेदवार बन्ने चर्चा समेत चल्ने गरेको छ ।

 

यस अघि नेकपा एमालेका चन्दा पुनसँग पराजित पोख्रेलको काँग्रेस भित्रबाट उमेदवारीको सम्भावना बढी रहेको काँग्रेस स्रोतले जनाएको छ ।

 

त्यसैगरी काँग्रेसबाट सालिकराम ढकाल,  हेमु देवकोटा,  रामचन्द्र भण्डारी, श्याम श्रेष्ठ, कपिल भुसाल, झपेन्द्रश्वर भुसाल लगायतले आकांक्षा देखाएका छन् ।

 

सत्ता गठबन्धन भए काँग्रेसले यस पटक कावासोती नगरपालिकामा जित हात पार्न सक्ने सम्भावना रहेको कारण पनि काँग्रेसबाट आकांक्षीहरु बढी देखिएका हुन् ।



सम्बन्धित
Loading...