कुसुमखोलाका चेपाङलाई बसोवासकै पिरलो, फेरि घर बनाउँ निकुञ्जको त्रास !

दक्षिणी चितवनको माडी नगरपालिकालाई फन्को मार्दै बगेको कुसुमखोला यतिबेला चर्चामा छ । कुसुमखोलाको मुहान आसपासमा बसोबास गर्ने अति विपन्न समुदायको बसोवासमा चितवन राष्ट्रिय निकुञ्ज तगारो बनेपछि कुसुमखोलाले पुनः चर्चा कमाएको हो ।
अघिल्लो हप्ताको आइतबार दिउँसो निकुञ्ज प्रशासनले यहाँका दर्जन बढी घर तथा छाप्रोमा आगो लगायो, जसकारण त्यसै पनि घरबारविहीन जस्तै भएर बसिरहेका यहाँका चेपाङ समुदाय झनै बेसहारा बनेका छन् ।घर वरिपरि खोरिया फाँडेर दुःखजिलो गर्दै आएका उनीहरुलाई निकुञ्जले दुःख दिन थालेको करिब चार वर्ष भयो ।
लगाएको खेतीबालीमा हात्ती चराइदिने, बनाएको घर तथा छाप्रोमा आगो लगाइदिने गरेपछि केही चेपाङहरु स्थानीय सरकारको समन्वयमा राईटोल, परवी खोलालगायतका स्थानमा बसाईँ सरिसकेका छन् । तर, ती स्थान पनि बाढी पहिराको उच्च जोखिममा रहेको भन्दै तल झर्न नमानेका र झरेर पनि पुरानै गाउँ फर्किएकाहरु भने कुसुमखोलामै बसिरहेका छन् ।
निकुञ्जले २०७७ सालको साउन ३ गते पनि काजीमान चेपाङसहितका केही घरमा आगो लगायो । यसवर्ष चैत ६ गते दिउँसो पनि गाउँ नै सखाप हुने गरी फेरि आगो लगाएपछि निकुञ्जसँग झनै त्रास फैलिएको छ । ‘अब हामीलाई मार्न बाँकी रह्यो,’ पीडित काजीमानले भने, ‘म बाँदरझुला गएको बेलामा मेरो घरमा आगो लगायो । अब फेरि घर बनाउँ भने निकुञ्जले आएर पोल्दिइहाल्छ, नबनाऔँ भने कहाँ बस्ने भन्ने पो चिन्ता भयो ।’
पखेरामा फलाएको एक क्वीन्टल तोरी बेचेको केही रकमसमेत खरानी बनाइदिएको उनले सुनाए । भएको खोरिया बारीमा खेतीबालीसमेत लगाउन नदिइएको उनको भनाइ छ, जसले गर्दा अधिकांश बारी बाँझै छन् । ‘भएको सबै बारीमा खेतीबाली लगाउन पनि दिँदैन,’ उनी भन्छन्, ‘बाली लगायो भने फल लाग्ने बेलामा हात्ती चराइदिने र फाँडेर नष्ट गरिदिने गर्छन् ।’
संविधानसभा सदस्य एवम् नेपाल चेपाङ संघका पूर्व केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले भने सरकारले नै बसालेको बस्ती सरकारले नै उठाउन लागेको बताए । उनका अनुसार देशभर निर्माण भएको जनता आवास कार्यक्रमअन्तर्गत कुसुमखोलामा पनि ६ वटा घर निर्माण भएका थिए । ‘तर, निकुञ्जले जनता आवासको घरसमेत भत्काइदिएको छ,’ उनले भने, ‘बनाउने पनि सरकार, भत्काउने पनि सरकार ।’
यसै निर्वाचन क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य पुष्पकमल दाहाललाई यस विषयमा जानकारी गराउँदासमेत खासै चासो नदेखाएको उनको गुनासो छ । ‘प्रचण्डजी अस्ति भण्डारा आउँदा एउटै मञ्चमा भेटेको थिएँ । त्यतिखेर यहाँको वस्तुस्थितिबारे जानकारी गराएँ । तर, खासै चासो दिनुभएन,’ उनले भने, ‘आशा गरेकैबाट निराशा हुनुपर्ने भएपछि निमुखा चेपाङले कसरी पाउलान् न्याय ?’ निकुञ्ज पनि सरकारी निकाय नै भएकोले चेपाङमाथि भएको अन्यायको विरूद्धमा चेपाङ संघले आन्दोलन गर्नैपर्ने अवस्था आएको उनको भनाइ छ ।
माडी नगरपालिकाले पनि निकुञ्जले ज्यादै अमानवीय काम गरेको बताएको छ । सर्वोच्च अदालतले नै ‘जस्तो अवस्थामा छ, त्यस्तै अवस्थामा छाडिदिनू’ भनेर आदेश दिइसक्दा पनि निकुञ्जले अटेरी गरेर जनताको घरसँगै मन पोल्दै हिँडेको मेयर ठाकुरप्रसाद ढकालले बताए । ‘हामीले पनि यहाँको बस्ती खाली गरेर अन्यत्रै व्यवस्थापन गर्ने प्रयास गरिरहेका छौँ ।
अहिलेलाई केही नगर्नु भनेर आग्रह गरिरहेकै बेला निकुञ्जले गरिबको घरमा आगो झोस्दै हिँड्नु त मानवीय धर्म नै भएन,’ उनले भने, ‘यहाँका केही परिवारको व्यवस्थापन भइसकेको छ । बाँकीलाई पनि हामी व्यवस्थापन गर्ने काममै केन्द्रित छौँ ।’
माडी नगरपालिकाको वडा नं ९ मा पर्छ कुसुमखोला । बगईको बसपार्कबाट करिब डेढ घन्टाको पैदलपछि पुगिने नगरपालिकाको पूर्वी किनारमा पर्ने यो बस्ती २०४८ सालमा बाढी पहिराले विस्थापित बनेका मकवानपुरको साविक काँकडा गाविसबाट बसाईँ सरी आएका चेपाङ समुदायको पछिल्लो किलोथलो हो ।
उक्त क्षेत्रमा भएको घटनाबारे सत्यतथ्य बुझ्न नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जिल्ला समन्वय समितिसँगको समन्वयमा शुक्रबार आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनको टोली पनि कुसुमखोला पुगेको थियो ।