गर्मी छल्न चितवनको लामो झरना पुग्ने पर्यटकको संख्या बढ्दै


 



तराईका जिल्लामा गर्मी बढ्दो छ । चर्काे घाम लाग्ने भएकाले दिउँसो घरबाहिर निस्किन कठिन बन्दैछ । गर्मी छल्नका लागि इच्छाकामना गाउँपालिका–६, जलविरेस्थित लामो झरना पुग्ने पर्यटकको संख्या बढ्न थालेको छ ।प्राकृतिक झरनाको चिसो पानी, झरनाबाट उछिट्टिएर निस्किने पानीका मसिना छिटा र मनोरम हरियाली वातावरणले चितवनको हपहपी गर्मी भुलाइदिन्छ । गर्मीले उकुसमुकुस भएका पर्यटक त्यहाँ पुग्दा सबै बिर्सिन्छन् ।

 




नारायणगढ–मुग्लिन सडकअन्तर्गत पर्ने जलविरेको १०२ मिटरभन्दा लामो यो झरना नारायणगढबाट मुग्लिनतर्फ २७ किमी र मुग्लिनबाट नारायणगढतर्फ सात किमीको दूरीमा पर्छ । सडकबाट एक किमी उकालो बाटो हिँडेपछि झरनामा पुगिन्छ ।

 

झरनाको चिसो पानीमा रम्दै पौडी खेल्न पाउँदा आनन्दको अनुभूति भएको माडीका युवा प्रेमप्रसाद पौडेलले बताए ।पढाइको सिलसिलामा विगत नौ वर्षदेखि भरतपुरमा बस्दै आएका पौडेल शनिबार पहिलोपटक लामो झरना पुगेका हुन् ।

 

‘झरनाको नाम त सुनेको हो तर अहिलेसम्म आउन पाएको थिइनँ’, उनी भन्छन्, ‘कल्पना गरेभन्दा धेरै रमणीय रहेछ । गर्मीयाममा झरनाको चिसो पानीमा रम्दै पौडी खेल्न र फोटो खिच्न पाउँदा अत्यन्तै खुसी लागेको छ ।’ वैशाख लागेपछि पुनः गर्मी छल्न लामो झरना आउने योजना बनेको उनले बताए ।

 

भरतपुरका निशान तिवारी पनि पहिलोपटक लामो झरना पुगे । मानवनिर्मित स्वीमिङ पुलमा भन्दा झरनामुनि बनेको तलाउमा पौडी खेल्दा धेरै मज्जा आएको उनले बताए । ‘झरनाको पानीमा थापिँदा पानीले मज्जाले चुट्दोरहेछ, तैपनि मज्जा आयो’, उनी भन्छन्, ‘चिसो पानीले सुरूमा त जाडो नै बनायो । एकछिन पौडी खेल्दा जाडो पनि हराएको जस्तो भयो ।’

 

त्यसो त, झरनाको अवलोकन गर्न, फोटो खिच्न र टिकटक बनाउनमात्रै पनि पर्यटकहरु लामो झरना पुग्ने गर्छन् । जलविरेको लामो झरना चितवनको मुख्य पर्यटकीय गन्तव्यमध्येको एक हो । यहाँ पिकनिक खान, म्युजिक भिडियो तथा फिल्मको सुटिङ गर्न पनि आउने गर्छन् ।

 

२०६९ सालदेखि लामो झरनामा पर्यटन विकास भएको हो । यहाँ चितवनलगायत धादिङ, काठमाडौँ, नवलपरासी, नुवाकोट, गोरखा, तनहुँ, कास्कीलगायतका जिल्लाबाट पर्यटक आउँछन् । लामो दूरीका सवारीसाधन पनि यहाँ रोकिएर झरना अवलोकन गर्न पुग्ने गर्छन् ।

 

चैत लागेसँगै पर्यटकको आगमन बढ्न थालेको लामो झरना पर्यटन विकास समितिका अध्यक्ष देवकुमार गुरूङले बताए । ‘गर्मी बढेसँगै आन्तरिक पर्यटक बढेका छन्, विदेशी पर्यटकचाहिँ त्यति छैनन्’, उनले भने, ‘दैनिक दुईदेखि तीन सय जनासम्म आएका छन्, सार्वजनिक बिदा र सोमबारका दिन अझ बढी आउँछन् ।’

 

बर्खामा आएको बाढीले झरनाको मुनि बनाइएको पोखरीमा माटो ल्याएर भरिदिएको छ । माटो हटाएर पोखरी सफा गर्न गाउँपालिकालाई पत्राचार गरे पनि बेवास्ता गरिएको उनी बताउँछन् । ‘राजस्व सबै गाउँपालिकाले लैजाने भएकाले पोखरी सफा गर्न गाउँपालिकालाई नै आग्रह गरेका छौँ, तर सुनुवाइ भएको छैन’, उनी भन्छन्, ‘अब पर्यटक आउने सिजन भयो, चैतसम्म जसरी पनि पोखरीमा थुप्रिएको बगर हटाउने तयारीमा छौँ ।’

 

झरना अवलोकनका लागि इच्छाकामनाका बासिन्दाले प्रतिव्यक्ति २० र अन्य स्वदेशीले प्रतिव्यक्ति ५० रूपैयाँ प्रवेश शुल्क तिर्नुपर्छ । विदेशीले प्रतिव्यक्ति १०० रूपैयाँ तिर्नुपर्ने व्यवस्था छ । प्रवेश शुल्कबाट प्राप्त भएको सबै रकम इच्छाकामना गाउँपालिकाले लिन्छ । यसरी बर्सेनि लाखौँ रूपैयाँ आम्दानी गर्ने गाउँपालिकाले लामो झरनामा पूर्वाधार निर्माण तथा व्यवस्थापनमा भने बजेट नै विनियोजन गर्दैन ।

 

समितिले माग्यो आम्दानीको २५ प्रतिशत

लामो झरनाबाट आम्दानी भएको वार्षिक रकमको २५ प्रतिशत रकम समितिले मागेको छ । समितिको कार्यालय सञ्चालन तथा पूर्वाधारका लागि २५ प्रतिशत रकम माग गरिएको गुरूङले बताए ।

 

‘आम्दानी भएको सबै रकम गाउँपालिकाले लैजान्छ, हामीले एकसुको पाउदैनौँ’, उनले भने, ‘पूर्वाधार निर्माणका लागि गएको चार वर्षसम्म बजेट दिएन, यो अन्तिम वर्ष तीन लाखमात्रै दियो । अरु सबै काम संघ र प्रदेश सरकारले दिएको पैसाबाट भएको हो ।’ गाउँपालिकाले दिएको तीन लाख रूपैयाँबाट पार्किङ स्थलको काम हुँदैछ ।

 

गाउँपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएपछि पहिलोपटक गाउँपालिकाले बजेट दिएको उनले बताए । कोरोना महामारी सुरू हुनुअघि इच्छाकामना गाउँपालिकाले लामो झरनाबाट वार्षिक १७ लाख रूपैयाँ आम्दानी गरेको थियो ।

 

गत आव २०७७/७८ मा कोरोनाले पर्यटन क्षेत्रसमेत प्रभावित भएपछि गाउँपालिकाले आठ लाख ८० हजार रूपैयाँमात्रै आम्दानी ग¥यो । लगानी नै नगरी गाउँपालिकाले आम्दानीमात्रै गर्न खोजेको देखिन्छ । टिकट काट्न र सरसफाइ गर्न गाउँपालिकाले दुई कर्मचारी खटाएको छ ।

 

पूर्वाधार निर्माणका काम

संघ र प्रदेश सरकारबाट प्राप्त रकमले लामो झरनामा पूर्वाधार निर्माण हुँदै आएको छ । झरनानजिकै फुड स्टल निर्माणका लागि प्रदेश सरकारले यसवर्ष ५० लाख ९० हजार रूपैयाँ विनियोजन गरेको छ । सिजनअनुसारको खानेकुरा राख्ने गरी फुड स्टल बनाउन लागिएको गुरूङले बताए ।

 

संघीय सरकारबाट प्राप्त १० लाख रूपैयाँले नयाँ टिकट काउन्टर, दुईवटा च्यानल गेट र फिनिसिङ वाल लगाउने काम भएको उनले बताए । निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित सांसद् कृष्णभक्त पोखरेलको पहलमा संघीय सरकारले दिएको दुई करोड रूपैयाँले गत वर्ष मुख्य सडकबाट झरनासम्मको एक किमी दूरीमा ढलान गर्ने काम भएको उनले बताए ।

 

झरनाबाट चार किमीमाथि गुरूङ गाउँ छ । गुरूङ गाउँमा ५२ घरधुरी छन् । गुरूङ गाउँलाई होमस्टेका रुपमा विकास गर्न लागिएको उनले जानकारी दिए । झरनाबाट गुरूङ गाउँ हुँदै चण्डीभञ्ज्याङसम्मको करिब १९ किमी सडक स्तरोन्नतिको काम पनि भइरहेको छ ।

 

इच्छाकामना गाउँपालिकाकी अध्यक्ष गीताकुमारी गुरूङले पोखरीमा थुप्रिएको माटो हटाउन बजेट छुट्टयाइसकेकाले त्यसमा भएको ढिलाइबारे अनभिज्ञता व्यक्त गरिन् । त्यस्तै, संघ तथा प्रदेशले गाउँपालिकालाई दिएको अनुदानबाट पूर्वाधार निर्माण भएकाले पूर्वाधार निर्माणमा गाउँपालिकाले बजेट दिएन भन्न नमिल्ने उनले बताइन् ।

 

‘संघको पैसा अनुदान भनेर गाउँपालिकामा आएपछि संघको भन्ने हुन्छ र ?’, उनले भनिन्, ‘काम भएपछि भुक्तान नै हामीले दिने हो । यो–यो पूर्वाधारका लागि पैसा दिनुस् भनेर पर्यटन मन्त्रालयलाई लेखेर पठाएको हुन्छ, अनि पैसा आउँछ । त्यसलाई संघको पैसा भन्न मिल्दैन ।’ जलविरे झरनामा गाउँपालिकाले पूर्वाधार निर्माण गरिरहेको भन्दै उनले समितिले त्यसको संरक्षण गर्ने जिम्मेवारी पाएको बताइन् ।



सम्बन्धित
Loading...