स्थानीय तह चुनावका लागि मतपत्र छपाइ सुरू

वैशाखमा हुने स्थानीय तह चुनावका लागि निर्वाचन आयोगले मतपत्र छपाइ सुरू गरेको छ । निर्वाचन आयोगद्वारा गरिने नियमित पत्रकार भेटघाट कार्यक्रममा क्रममा सोमबार आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले अहिलेसम्म १ लाख ८० हजार नमूना मतपत्र छापिइसकेकाले सोमबारबाट सक्कली मतपत्रको छपाइ कार्य सुरु हुने बताएका हुन् ।
पौडेलले एक करोड ९४ लाख थान मतपत्र छपाइ गरिने बताएका छन्। आयोगका अनुसार सबैभन्दा कम १६ लहरको मतपत्र डोल्पाको हुनेछ भने सबैभन्दा धेरै ५६ लहरको मतपत्र काठमाडौंको हुनेछ।
०७९ वैशाख ३० मा हुने निर्वाचनका लागि आयोगले मतपत्र छपाइको जिम्मा जनक शिक्षा सामग्री केन्द्रलाई दिएको छ ।
त्यस्तै कुल मतपत्रमध्ये ८ देखि २५ प्रतिशतसम्म जगेडा मतपत्र छापिने प्रवक्ता पौडेलले बताएका छन् ।
पौडेलले गृहमन्त्रालयले एकीकृत सुरक्षा योजनाको विषयमा आयोगलाई जानकारी गराइसकेको भन्दै त्यसप्रति आयोग गम्भीर भएर लाग्नेसमेत बताए ।