प्रचण्डले बाँडे ४६ परिवार भूमिहीन दलितलाई लालपुर्जा


 



नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूमिहीन दलितलाई जग्गाधनी पुर्जा (लालपुर्जा) वितरण गरेका छन् । उनले भरतपुर महानगरपालिका–२, आँपटारीका ४६ परिवार भूमिहीन दलितलाई बुधबार लालपुर्जा वितरण गरेका हुन् ।

 

 




वैशाख ३० गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले चैत २५ गतेदेखि निर्वाचन आचारसंहिता लागू गर्ने तयारी गरेको छ । आचारसंहिता लागू भएपछि लालपुर्जा वितरणलगायत मतदातालाई प्रभावित पार्ने कार्य गर्न नपाउने भएकाले लालपुर्जा वितरण गर्न प्रचण्ड बुधबार चितवन आएका हुन् ।

 

 

भरतपुर–२ मा मात्रै ९८ घरधुरी भूमिहीन दलित रहेका छन् । भरतपुर महानगरपालिकामा भूमिहीन दलित एक हजार ९७९, भूमिहीन सुकुमबासी तीन हजार ७८५ र अव्यवस्थित बसोवासी पाँच हजार पाँच गरी जम्मा १० हजार ७७७ सुकुमबासी सूचीकृत छन् । बाँकी सुकुमबासीले निर्वाचनपछि मात्रै लालपुर्जा पाउनेछन् ।

 

 

वर्षाैंदेखि जग्गाको आवादकमोद गर्दै आए पनि भूमिहीनको दर्जामा जीवन बिताएका नागरिकले जग्गाधनी प्रमाणपुर्जा पाएका छन् । भूमिहीन भनिँदै आएका ४६ नागरिक जग्गाको मालिक भएका छन् । २०४६ सालमा गोरखाबाट आँपटारी आएर बस्न थालेकी ५० वर्षीया सुकमाया परियार जग्गाको लालपुर्जा पाएपछि खुसीले गद्गद भइन् ।

 

 

उनले बुधबार प्रचण्डको हातबाट जग्गाको लालपुर्जा लिइन् । ‘लालपुर्जा पाएपछि एकदम खुसी लागेको छ, यसरी चुनावअघि नै लालपुर्जा पाइन्छ होला भन्ने आशा हराइसकेको थियो’, उनी भन्छिन्, ‘यसअघि धेरैले लालपुर्जा दिन्छु भनेर भोट माग्न आए, जग्गा नापेजस्तो पनि गरे तर दिएनन् । अहिले बल्ल पाइयो ।’

 

 

गोरखाबाटै आएर आँपटारीको मिलनचोकमा बसोवास गर्न थालेकी वृद्धा पूर्णमाया दर्जी लालपुर्जा लिन बोलाएपछि कार्यक्रम स्थलमा पुगिन् । नभन्दै कार्यक्रममा नेताले भाषण सकेपछि उनले जग्गाधनी प्रमाणपुर्जा हात पारिन् । लालपुर्जामा हस्ताक्षर गर्न उनी मंगलबार नै नापी कार्यालय पुगेकी थिइन् ।

 

 

‘हामी यहाँ आउँदा एक/दुईवटा मात्रै घर थिए । घोचा गाडेर बस्दाखेरि नि लखेटेर फेरि आएर घोचा गाडेर बसेको हो’, कार्यक्रम स्थलमा भेटिएकी उनले भनिन्, ‘पहिला लालपुर्जा पाइन्छ रे भन्दाभन्दै निराशामात्रै भयो, अहिलेचाहिँ पाइन्छ भनेर बोलाएर आएको ।’

 

 

उनका श्रीमान् बितेको १० वर्षभन्दा बढी भयो । विधुवा भत्ताले जीवनयापन चलाउँदै आएकी उनी घरमा एक्लै बस्छिन् । आफू कति वर्षको भएँ भन्ने नै उनलाई यकिन छैन । सानैमा पढाउन भनेर भान्दाइले काठमाडौँ लगेका छोराछोरी कहिलेकाहीँ भेट्न आउने गरेको उनले सुनाइन् ।

 

रेनुका बुबा प्रचण्ड भन्न थाले : प्रचण्ड

भूमिहीन दलितलाई लालपुर्जा वितरण गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भरतपुर महानगरमा विकासले राम्रो गति लिएको दाबी गरे । ‘चितवनले आर्थिक समृद्धि र सामाजिक न्यायको नयाँ मोडल लिन सक्छ, त्यसमा पनि भरतपुर महानगरपालिकामा विकासको एउटा गति पैदा भएको छ’, उनले भने ।

 

 

अघिल्लो चुनावमा महानगरको निर्वाचन हुँदै गर्दा रेनु दाहाललाई प्रचण्डकी छोरी भन्ने गरिएकामा अहिले रेनुका बुबा प्रचण्ड भन्ने स्थिति बनेको उनले बताए । ‘२०७४ को चुनावमा आउँदा उनको (रेनु) परिचय प्रचण्डको छोरी भन्ने थियो । तर मलाई खुसी लागेको छ, अहिले आउँदा अब प्रचण्डकी छोरी होइन रेनुको बुबा प्रचण्ड भएको छ’, उनले भने ।

 

 

‘२०७४ निर्वाचनमा यहाँ रेनु आउँदा सबैले प्रचण्डकी छोरी आयो भन्ने गर्थे, यद्यपि रेनुको आफ्नै त्याग र तपस्या थियो’, उनले भने, ‘रोल्पा, रूकुम जिल्लादेखि भारतका विभिन्न सहरमा भूमिगत भएर काम गरेको उनको आफ्नै अनुभव थियो ।’

 

 

स्थानीय तहको चुनावमा पनि गठबन्धनलाई सँगै लिएर जाने निर्णय भइसकेको भन्दै उनले आआफ्नो ठाउँमा सबैजना लचिलो बन्नुपर्ने बताए । ‘सबैले आफ्नो ठाउँबाट त्याग गर्ने मानसिकता लियो भने असम्भव भन्ने केही छैन’, उनले भने । सबै लचिलो बन्ने र त्याग गर्न सक्ने भएमा समाजवादमा पुग्न सकिने उनले बताए ।

 

‘निर्वाचनको अभियान होइन’

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले लालपुर्जा वितरण गर्ने काम निर्वाचनसम्बन्धी अभियान नभएको बताइन् । ‘यो निर्वाचनको अभियान होइन, संविधानमा भएको अधिकारअनुसार सुकुमबासीलाई सुशोभित गर्ने अभियानमात्रै हो’, उनले भनिन् ।

 

 

भूमिहीन सुकुमबासीलाई जग्गाको धनी बनाउन आफ्नो टिमले रातदिन नभनी काम गरेको उनले बताइन् । २१ वटा सुकुमबासी आयोगले गर्न नसकेको कार्य आफ्नो कार्यकालमा बनेको आयोगले द्रुतगतिमा गरेको उनले बताइन् । त्यस्तै, उनले भूमिसम्बन्धी समस्या सदाका लागि अन्त्य गर्ने दाबी पनि गरिन् । ‘विधि र प्रक्रिया सबै पूरा गरेरै लालपुर्जा बाँडिएको हो, भूमिसम्बन्धी समस्या सदाका लागि समाधान गर्छाैं’, उनले भनिन् ।

 

 

सुकुमबासी आयोग चितवनका अध्यक्ष बद्रि तिमिल्सिनाले आफूले प्रतिबद्धता जनाएअनुसार भूमिहीन दलितलाई लालपुर्जा प्रदान गर्न सफल भएको बताए । नेपालमै पहिलोपटक स्याटेलाइन प्रविधिबाट जग्गाको नक्सा लिएर ६३ दिनभित्र भूमिहीनलाई लालपुर्जा दिइएको भन्दै उनले बाँकी सुकुमबासीलाई पनि यथाशीघ्र लालपुर्जा दिइने बताए ।



सम्बन्धित
Loading...