बैशाख १ गते गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको परीक्षण उडान नहुने, किन ?

भैरहवामा निर्माण गरिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जिबिआइए) १ वैशाखमा परीक्षण उडान नहुने भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नयाँ वर्षको दिनमा परीक्षण उडान गरेर बुद्ध पूर्णिमाका दिन २ जेठदेखि नियमित उडान गर्ने तयारी गरेको थियो । तर, दुई साता पछाडि धकेलिएको क्यानले जनाएको छ ।
नयाँ विमानस्थलमा नियमित (व्यावसायिक) उडान सुरु गर्नुभन्दा पहिले धावनमार्ग, ट्याक्सी वे, एप्रोनदेखि टर्मिनल भवनका भन्सार, अध्यागमनलगायत हरेक युनिटहरूको अप्रेसनल परीक्षण गरिन्छ ।
त्यसका लागि नेपाल वायुसेवा निगम (एनएसी)को वाइडबडी जहाजबाट परीक्षण उडान गर्ने तयारी थियो । ‘न्यु इयर, न्यु रनवे’ भन्ने नारासहित विमानस्थलमा अप्रेसनल परीक्षण उडान गर्ने तयारी गरिएको भए पनि दुई साता पछाडि सरेको जिबिआइएका प्रवक्ता श्यामकिशोर शाहले बताए ।
जिबिआइएमा एरोनेटिकल रेडियो अफ थाइल्यान्ड (एरो थाई)ले विशेष विमानबाट ६ देखि १५ फागुनसम्म क्यालिब्रेसन फ्लाइट (यान्त्रिक परीक्षण उडान) गरिसकेको छ । यान्त्रिक परीक्षण उडानपछि क्यानले जिबिआइए उडानयोग्य रहेको ‘एरोनेटिकल इन्फर्मेसन पब्लिकेसन (एआइपी)’ प्रकाशित गरेको छ ।
यस कारण रोकियो परीक्षण उडान
क्यानले जिबिआइएको एरोनेटिकल इन्फर्मेसन पब्लिकेसन (एआइपी) प्रकाशित गरेको ४२ दिन नपुगेका कारण १ वैशाखमा अप्रेसनल परीक्षण उडान हुन नसकेको बताएको छ । जिबिआइए ८ वैशाखदेखि मात्र सञ्चालन गर्ने गरी एआइपी संशोधन गरिएको प्रवक्ता शाहले बताए ।
यस्तै, अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को अडिट टोली नेपाल आएको र क्यानको पूरै टिम अडिटमा व्यस्त रहँदा पनि १ वैशाखमा अप्रेसनल परीक्षण उडान गर्न नसकिएको शाहको भनाइ छ ।
आजदेखि आइकाओको टिमले अडिट सुरु गर्दै छ । ‘जिबिआइएको नयाँ धावनमार्गमा ८ वैशाख (२१ अप्रिल)देखि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान–अवतरण खुला हुन्छ, अब आन्तरिक उडान पनि नयाँ रनवेबाट मात्र हुन्छ,’ प्रवक्ता शाहले भने, ‘विदेशबाट आएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेर डाइभर्ट भएका फ्लाइट, चार्टर फ्लाइटहरू ८ जेठदेखि जिबिआइएमा अवतरण गर्न सक्नेछन् ।’
८ वैशाखदेखि मात्र उडान खुला हुने विमानस्थलको धावनमार्गमा समयभन्दा पहिला जहाज अवतरण गराउँदा केही समस्या आएमा प्रश्न उठ्न सक्ने शाह बताउँछन् । धावनमार्ग, ट्याक्सी वे, उडान गर्ने विमानलगायतमा केही क्षति भएमा त्यसको बिमा दाबी गर्न पनि मिल्दैन । त्यसैले पनि ८ वैशाखअगाडि विमानस्थलमा जहाज अवतरण गराएर जोखिम मोल्न नसकिने उनी बताउँछन् ।
त्यसो त अहिले आइकाओको अडिट टिमले नेपालको उड्डयन क्षेत्रको अडिट सुरु गरिसकेको छ । यो अडिट दुई सातासम्म चल्नेछ । क्यानको पूरै टिमले आइकाओको टोलीलाई अडिटमा सघाइरहेको छ । ‘हामीले उड्डयन क्षेत्रमा धेरै सुधार गरिसकेका छौँ, अहिलेको अडिटमा हामीले राम्रो गरेका छौँ, गल्ती, कमिकमजोरी सुधार गरेका छौँ भनेर प्रमाणित गर्नुपर्नेछ,’ प्रवक्ता शाहले भने, ‘यो अडिटलाई सफलतापूर्वक सम्पन्न गर्नु छ ।’
युरोपियन युनिएन (इयू)ले नेपाली वायुसेवालाई गम्भीर सुरक्षा चासो देखाउँदै सूचीमा राखेको छ । यस्तो वेलामा गौतम बुद्ध विमानस्थल उडान खुला नहुँदै परीक्षण उडान गर्दा समस्या निम्तिएमा आइकाओले पुनः गम्भीर सुरक्षा चासोको लिस्टमा राख्ने डर रहन्छ । यसअघि नै एरो थाईको विशेष विमानले १० दिनसम्म पटक–पटक उडान तथा अवतरण गरेर विमानस्थलको परीक्षण गरिसकेका कारण थप परीक्षण उडान गर्न आवश्यक नरहेको क्यानको भनाइ छ ।
तैपनि, जिबिआइएमा दुई साता पछि अप्रेसनल फ्लाइट गर्ने तयारी रहेको उनले बताए । त्यसका लागि डेलिगेट, क्यानका कर्मचारी, प्राविधिक, उच्च अधिकारीलगायत बोकेको जहाज काठमाडौंबाट भैरहवा ल्यान्ड गराउने योजना छ ।