अमृता मृत्यु प्रकरण: तनाबग्रस्त बन्याे बुटवल, ३ पत्रकारमाथि प्रहरीद्वारा दुर्व्यवहार

रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ जानकीनगरकी २९ वर्षीया अमृता टण्डन (खत्री) को मृत्यु बारेमा आज पनि बिरोध प्रदर्शन भएको छ ।
अमृताको बुधबार राति शंकास्पद मृत्यु भएपछि उनका माईती पक्ष तथा आफन्तले परिवारबाटै हत्या भएको भन्दै कारबाहीको माग गरेका छन् । कारबाही माग गर्दै उनको घरअगाडि प्रदर्शनहुँदा सो क्षेत्र तनावग्रस्त बनेको छ ।
बिरोध प्रदर्शनमा सम्भावित दुर्घटना रोक्नका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ । बुधबार जानकीनगरमै माइती घरमा रहेकी अमृतालाई श्रीमान् प्रेम टण्डनले पटक पटक फोन गरेर घरमा बोलाएको एक घण्टा नबित्दै उनको मृत्यु भएको माइती पक्षको दाबी छ ।
अमृतालाई परिवारकै सदस्यले हत्या गरेर छिमेक र प्रहरी कसैलाई खबर नगरी विष सेवन गरेको बहाना बनाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पुर्याएको माइती पक्षको आरोप छ ।

अस्पताल पुर्याउँदा चिकित्सकले अमृताको पहिल्यै मृत्यु भइसकेको जानकारी गराएकाले उक्त घटना हत्या नै भएको अमृताका छिमेकी दाजु लक्ष्मण शर्माले दाबी गरे ।
‘बुधबार करिब राति साढे ८ बजेसम्म अमृता माईतमै थिइन्, ज्वाईले तीन पटकसम्म फोन गरेर घर आउने भए आऊ नभए छोरालाई जे पनि हुनसक्छ भनेपछि घर गएकी थिइन् ।’–माइती पक्षले भने ।
घटनाको विवरण सुनाउँदै शर्माले भने ‘घर गएपछि साढे ९ बजे मलाई बचाऊ भनेर दाइलाई म्यासेज गरेकी रहिछ, दश नबज्दै मृत्यु भएको खबर आयो ।’ छोरीलाई घरमा सासु, ससुरा, श्रीमान्ले धेरै पहिलादेखि नै गालीगलौज र यातना दिंदै आएको अमृताकी आमा सावित्रा खत्रीले बताइन् ।
अमृताको सात वर्षअघि प्रेम विवाह भएको थियो । पटकपटक यातना पाएपछि गत भदौमा वडा कार्यालयमा निवेदन दिएपछि आइन्दा मिलेर बस्ने सहमति भएको थियो । मृतकका ५ वर्षीय छोरा छन् ।
मृतकका श्रीमान्, सासु र ससुरालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले बताए । घटनाको सत्यतथ्य छानविन गरी दोषिमाथि कडा कारबाहीको माग गर्दै माईती पक्षले ईलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दिएका छन् ।
बुटवलका ३ पत्रकारमाथि प्रहरीद्वारा दुर्व्यवहार

बुटवल । समाचार संकलनको क्रममा रहेका ग्लोबल आवाजका समाचार संयोजक डी।बी। सुस्लिङसहित ३ पत्रकारलाई प्रहरीले दुर्व्यवहार गरेको छ ।
रुपन्देहीको तिलोत्तमामा बुधबार राति शंकास्पद मृत्यु भएकी २९ वर्षीया अमृता खत्री टण्डनको हत्या भएको दावी गर्दै आफन्त र स्थानीय बासिन्दाले छानबिनको माग राखेर प्रहरी कार्यालय अघि गरेको प्रदर्शनको समाचार संकलन गर्ने क्रममा ग्लोबल आवाजका समाचार संयोजक सुस्लिङसहित खबरकुरा डट कमका प्रबन्ध सम्पादक शरणकुमार कर्माचार्य र सम्पादक दिनेश श्रेष्ठमाथि दुर्व्यवहार भएको हो । पत्रकारहरुलाई इलाका प्रहरी कार्यालय बुटवलका वरिष्ठ सई बाबुराम घिमिरेले दुर्व्यवहार गरेका हुन् ।
अमृताका आफन्त र स्थानीय र प्रहरीबीच भएको झडपको फोटो खिच्ने क्रममा ग्लोबल आवाजका सुस्लिङको मोवाइल खोस्दै घिमिरेले डिलिटको दबाब दिएका थिए । सोही क्रममा खबरकुराका प्रबन्ध सम्पादक कर्माचार्यले हामी संचारकर्मी हौं झडपको फोटो खिचेको भन्दै सूचना विभागको प्रेस पास देखाउँदा देखाउँदै गर्दा कसैलाई चिन्दैनौं भन्दै घिमिरे जाइलागेका थिए । उनले कर्माचार्यको कठालो समात्दै कुटपिटको प्रयास गर्नै लाग्दा अर्को एक प्रहरी आएर छुटाएका थिए ।
यता इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठगबहादुर केसीले भने दुरभाग्यबस सो घटना घटना हुन पुगेको बताए । पत्रकारहरुको सूचना संकलन गर्न पाउनु अधिकार भएको बताउँदै प्रहरी प्रमुख केसीले उक्त घटनाले आफुलाई दुःखित बनाएको भन्दै माफि समेत माग्ने बताए । त्यसका लागि पत्रकारहरुलाई इलाकामा बोलाएको उनले बताए ।