दुई हप्तायता धारामा पानी आउने छाडेपछि बैतडीमा पानीको हाहाकार


 



बैतडी / बैतडी सदरमुकाममा खानेपानीको हाहाकार भएको छ । दुई हप्तायता यहाँका धाराहरुमा खानेपानी आउने छाडेपछि व्यापारी तथा स्थानीयबासी मारमा परेका छन् ।

 

सदरमुकामस्थित बृहत खानेपानी आयोजनामा समस्या आएपछि खानेपानीको हाहाकार भएको गोठलापानीका स्थानीय व्यापारी खिमानन्द भट्टले बताए ।

 




उनले भने, ‘पहिला मासिक तीन सय रुपैयाँ तिरेपछि एक महिना पानी खान पाइन्थ्यो । अहिले ट्यांकरमा पानी ल्याउनुपर्दा मासिक चार हजार खर्च हुँदै छ । १८ करोड रकम खर्च गरेर बृहत खानेपानी आयोजना सञ्चालनमा ल्याइएको हो ।

 

उक्त आयोजनाको पानी खान नपाए पनि शुल्क भने हरेक महिना तिर्नुपर्छ । पानी सुचारु गर्ने विषयमा सरोकारवाला मौन छन् ।

 

धारामा खानेपानी आउन छाडेपछि दैनिक ट्यांकरबाट पानी मगाउनु परेको अर्का व्यापारी यज्ञराज बोकटीले बताए । उनले भने, ‘निर्वाचन नजिक आएकाले बजारमा मानिसको भीड बढेको छ ।

 

राजनीतिक दलका नेता, कार्यकर्तादेखि म्यादी प्रहरी तथा कृषि गणनाका प्रशिक्षार्थीहरू आएकाले बजारमा भीडभाड बढेको छ । पानीको अभावपुर्ति गर्न निकै समस्या छ ।’

सदरमुकाममा पानीको समस्या हुँदा सार्वजनिक शौचालयसमेत बन्द रहेकाले बजारमै खुला दिसा पिसाव गर्ने गरेको स्थानीय सुरेश बहादुर चन्दले बताए ।

 

नगर खानेपानी उपभोक्ता समितिका अध्यक्ष धर्मानन्द भट्टले भने, ‘हामी खानेपानी बनाउन लागिपरेका छौँ । खानेपानीको मुहानमै पानीको मात्रा घटेको देखिन्छ ।

 

सबै उपभाेक्तालाई कसरी पर्याप्त खानेपानी पुर्‍याउन सकिन्छ, त्यसको पहलमा छु । म अध्यक्ष बनेको एक महिना मात्र पुग्दै छ । म सबै उपभोक्तालाई पानी पुर्याउन प्रतिवद्ध छु ।’

 

 



सम्बन्धित
Loading...