नवलपुरमा अप्ठेरोमा गठबन्धन, जुटेन सहमति
रामकुमार श्रेष्ठ –
नवलपुर । पूर्वी नवलपरासीमा बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि गठबन्धन दलहरु बीच सहमति जुट्न सकेको छैन ।
गठबन्धन दलहरु स्थानीय तहको निर्वाचनमा नवलपुरमा भागबण्डा गरेर जाने तयारी रहे पनि भागबण्डा नमिले पछि गठबन्धनबीच सहमति नजुटेको हो ।
सोमबार गठबन्धनको वैठक बसेपनि सहमति नजुटेको नेपाली काँग्रेस नवलपुरका उप सभापति बालकृष्ण घिमिरेले बताए ।
नेपाली काँग्रेस नवलपुरका ८ वटै पालिकामा पालिका प्रमुख लिएर निर्वाचनमा जाने तयारीमा छ भने माओवादी केन्द्रले २, नेकपा एसले २ पालिकामा पालिका प्रमुख दावी गरेको छ । स्रोतका अनुसार जसपाले पनि एउटा पालिकामा पालिका प्रमुख दावी गरेको छ ।
जनमोर्चाले पनि केही वडाहरुमा आफ्नो दावी प्रस्तुत गरेको छ ।
माओवादी केन्द्रले कावासोती नगरपालिका र देवचुली नगरपालिकामा नगर प्रमुख दावी गरेका छन् । त्यसैगरी नेकपा एसले कावासोती र हुप्सेकोटमा दावी प्रस्तुत गरेका छन् भने जसपाले देवचुली नगरपालिकामा पालिका प्रमुख मागेको छ ।
काँग्रेस केही पालिकामा गठबन्धन दललाई उपप्रमुख वा उपाध्यक्ष दिएर जाने मनस्थितिमा रहे पनि गठबन्धनका दलहरुले पालिका प्रमुख नै मागेपछि नवलपुरमा गठबन्धन संकटमा परेको हो । गठबन्धनको वैठक आज फेरि १ बजे बस्ने नेकपा एस नवलपुरका अध्यक्ष सालिकराम भट्टराईले बताए ।
नवलपुरका ८ पालिका मध्ये यस अघिको निर्वाचनमा नेपाली काँग्रेसले मध्यविन्दु नगरपालिकामा नगरप्रमुख उपप्रमुख, बौदीकाली, बुलिङ्गटार र विनयी त्रिवेणी गाउँपालिकामा पालिका अध्यक्ष र उपाध्यक्षमा जित हात पारेको थियो ।
त्यसैगरी गैडाकोटमा नगर प्रमुख पद काँग्रेसले गुमाएको थियो भने उपप्रमुखमा जित हात पारेको थियो । त्यसैगरी देवचुलीमा नगर प्रमुखमा नेपाली काँग्रेसले जितेको थियो भने उपप्रमुख गुमाएको थियो । त्यसैगरी हुप्सेकोट गाउँपालिकामा पालिका अध्यक्ष काँग्रेसले जितेको थियो भने उपाध्यक्ष गुमाएको थियो ।
कावासोती नगरपालिकामा भने नगर प्रमुख उपप्रमुख दुवै पदमा नेपाली काँग्रेसका उमेदवारलाई पराजित गर्दै नेकपा एमालेले जित हात पारेको थियो ।
गण्डकी प्रदेशमै नवलपुर जिल्ला काँग्रेसका बलियो जिल्लाको रुपमा रहेको कारण पनि नेपाली काँग्रेसले नवलपुरका सबै पालिकामा पालिका प्रमुखमा आफ्नो उमेदवारलाई अगाडि सार्न चाहेको छ ।