नवलपुरमा एसईईमा ६८११ परीक्षार्थी सहभागी हुदै, शुक्रबारदेखि परीक्षा

रामकुमार श्रेष्ठ –
नवलपुर । पूर्वी नवलपरासीमा यस बर्षको एसईई परीक्षामा नवलपुरबाट ६ हजार ८ सय ११ जना परीक्षार्थी सहभागी हुने भएका छन् ।
शिक्षा तथा समन्वय इकाई कार्यालय नवलपुरका प्रमुख कृष्णचन्द्र पोख्रेलका अनुसार ग्रेड वृद्धिका २५ जना सहित नवलपुरबाट यस बर्ष एसईई परीक्षामा ६ हजार ८ सय ११ जना परीक्षार्थी परीक्षामा सहभागी हुने भएका हुन् ।
नवलपुरमा यस बर्ष २६ वटा परीक्षा केन्द्र र एउटा उपकेन्द्र तोकिएको छ । जस अनुसार गैडाकोटमा ३, देवचुलीमा ५, कावासोतीमा ७, मध्यविन्दुमा ४, विनयी त्रिवेणीमा २, हुप्सेकोटमा २, बौदीकालीमा १ र बुलिङ्गटारमा १ परीक्षा केन्द्र कायम गरिएको छ ।
परीक्षाका लागि सबै प्रश्नपत्र र उत्तर पुस्तिका परीक्षा केन्द्रमा पुगिसकेको पोख्रेलले बताए । बैशाख ९ गतेबाट एसईई परीक्षा शुरु हुँदै छ । पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ ।
नवलपुरमा यस बर्ष संस्थागत तर्फ ५१ वटा, सामुदायिकतर्फका ८३ वटा र खुल्लातर्फका एउटा गरी १३५ वटा विद्यालयहरुले एसईई परीक्षामा परीक्षार्थी सहभागी गराउँदै छन् ।