सत्ता गठबन्धन भागबण्डा: ६ महानगर र ९ उपमहानगरको यस्ताे बाँडफाँड




पाँचदलीय सत्तागठबन्धनले ६ महानगर र ९ उपमहानगरका मेयर–उपमेयरको सिट बाँडफाँड टुंग्याएको छ । जसपाले नेपालगन्ज उपमहानगरमा दाबी नछाडेपछि जनकपुरको पनि सहमति हुन सकेन ।

 

नेताहरूले दिउँसो बनाएको सहमतिको लिखित मस्यौदामा हस्ताक्षर हुन सकेन । मंगलबार राति पौने २ बजेसम्म सहमतिको प्रयास गरेका शीर्ष नेताहरू बुधबार पुन: बस्ने गरी बालुवाटारबाट बाहिरिए ।

 




दिउँसो बसेको बैठकले ६ महानगर र ११ उपमहानगरमा मेयर–उपमेयरको सिट बाँडफाँडको मस्यौदा तयार पारेको थियो । तर, जनकपुर उपमहानगर पाउने टुंगो लागिसकेको जसपाले राति १० बजेपछिको बैठकमा नेपालगन्जमा पनि दाबी गरेपछि सहमतिमा हस्ताक्षर हुन सकेन ।

 

जसपाका संघीय अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव काठमाडौंबाहिर रहेकाले मंगलबार दिउँसोको बैठकमा सहभागी थिएनन् ।

 

माओवादी नेता देव गुरुङले बुधबार बिहान बसेर बाँडफाँड टुंग्याइने बताए । ‘सबै मिलेको छैन, बुधबार फेरि बैठक बसेर टुंग्याउँछौँ,’ उनले भने । नेताहरूकाअनुृसार ६ महानगरपालिकामा कांग्रेसले तीन तथा माओवादी, एकीकृत समाजवादी र जसपाले एक–एक मेयर पाउने गरी सहमति बनिसकेको छ ।

 

उपमेयरमा पनि कांग्रेसले तीन तथा माओवादी, एकीकृत समाजवादी र जसपाले एक–एक लिने गरी सहमति बनेको एक नेताले बताए ।

 

सहमतिअनुसार कांग्रेसले विराटनगर, ललितपुर र काठमाडौंमा मेयर तथा वीरगन्ज, भरतपुर र पोखरामा उपमेयर पाउने छ । माओवादीले भरतपुरमा मेयर तथा ललितपुरमा उपमेयर लिने छ । एकीकृत समाजवादीले पोखरामा मेयर र काठमाडौंमा उपमेयर लिने सहमति छ । जसपालाई वीरगन्जमा मेयर र विराटनगरमा उपमेयर परेको छ ।

 

मंगलबार दिउँसोसम्मको प्रगतिअनुसार ११ उपमहानगरपालिकामा कांग्रेसले ६ तथा माओवादीले दुई र एकीकृत समाजवादी र जसपाले एक–एक मेयर लिने गरी सहमति भएको थियो । जसअनुसार कांग्रेसले धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर र धनगढीमा मेयर पाउने तय भएको थियो । त्यस्तै, माओवादीले जितपुर–सिमरा र घोराही, एकीकृत समाजवादीले हेटौँडा र जसपाले जनकपुर पाउने थियो । तर, रातिको शीर्ष नेताहरूको बैठकमा जसपाले नेपालगन्ज पनि आफूले पाउनुपर्ने अडान राख्यो । जुन यसअघि कांग्रेसले राख्ने लगभग सहमति बनेको थियो ।

 

जसपाले नेपालगन्ज दाबी गरेपछि कांग्रेसले पनि जनकपुरमा दाबी गर्‍यो । नेताहरूले पौने दुई बजेसम्म सहमति जुटाउने कोसिस गरे । तर, त्यसैमा कुरा अड्किएपछि पुनः बुधबार बस्ने गरी गठबन्धनको बैठक सकिएको छ । ११ वैशाखमा उम्मेदवार मनोनयनको कार्यतालिका छ ।

 

नयाँ पत्रिकाबाट



सम्बन्धित
Loading...