काँग्रेस पोखरा महानगरका सचिव थापाले भने– ‘अपमान भयो, बागी उम्मेदवारी दिनसक्छौँ’

पोखरा महानगरपालिका मेयर नेकपा एकीकृत समाजवादीलाई दिएको भन्दै नेपाली काँग्रेस पोखरा महानगरपालिका कमिटीले विरोध जनाएको छ ।
पार्टीका नेता कार्यकर्ताको भावना विपरित एकीकृत समाजवादीलाई पोखरा मेयर दिने निर्णय भएकाले निर्णय नसच्याए महानगर मेयरमा बागी उम्मेदवारी दिने काँग्रेस पोखरा महानगर सचिव गणेशबहादुर थापाले चेतावनी दिए ।
पार्टीले पोखरा निर्णय नसच्याए भरतपुर काण्ड दोहोर्याउने थापाले चेतावनी दिए । ‘पार्टीले पोखरा मेयर एकीकृत समाजवादीलाई दिने निर्णय गरेपछि जिल्ला पार्टी कार्यालय तालाबन्दी भयो ।
प्रदेश पार्टी कार्यालयमा तालाबन्दी गर्ने तयारी गरेका छौ’ थापाले भने, ‘महानगरमा कसरी अगाडि बढ्ने भन्ने विषयमा दिउँसो बैठक बोलाएका छौ । महानगरका ३३ वडाका नेताहरु आउनुहुन्छ । त्यहाँ पार्टी निर्णयका विषयमा छलफल हुने छ ।’ पार्टीको निर्णयले अग्रज नेताहरुले टाढा हुँदै जाने, पार्टीमा नयाँ आकर्षण नहुने स्थितिमा पुगेको थापाले बताए ।