भरतपुरको विकासका लागि विजय सुवेदीले लिए सरोकारवालासँग सुझाव

एमालेबाट भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने तयारी गरेका विजय सुवेदीले बुधबार सरोकारवालासँग सुझाव लिएका छन् ।
चुनावी घोषणा पत्र तयार गर्नका लागि सुवेदीले सुझावहरु संकलन गरेका हुन् । भरतपुरको विकास र समृद्धिका लागि नागरिकको अपेक्षा बुझ्न सुझाव लिइएको मेयरका उमेदवार सुवेदीले बताए ।
महानगरवासी सबै नागरिकको अभिभावकत्व लिनेगरी नमुना महानगर बनाउन व्यवस्थित गुरुयोजना बनाएर काम गरिने उनले बताए ।
नागरिकलाई क्षमताअनुसारको रोजगारी दिन सुरुको वर्ष नागरिकको अभिलेखिकरण गर्ने, अनुसन्धानका लागि आविस्कार केन्द्रको स्थापना गर्ने र विकास निर्माणमा निष्पक्ष सक्रियताको अभ्यास गर्ने उनको प्रतिबद्धता छ । ‘व्यवस्था परिवर्तन भयो भनियो तर अझै पनि अव्यवस्थाको निरन्तरता छ । हामी भरतपुरबाट व्यवस्थाको सुरुवात गर्छौँ’, उनले भने ।
प्राध्यापक कपिल सुवेदीले संघ र प्रदेशको बजेटको भरमा भरतपुरमा विकास भइरहेको बताए । यहाँको विकासका लागि वैदेशिक लगानी भित्र्याउन पनि सकिने भन्दै उनले त्यसका लागि पहिला वैदेशिक लगानी नीति बनाउन आवश्यक रहेको बताए ।
‘वैदेशिक लगानी भित्र्याउन सक्नुपर्छ । महानगरमा त्यस्तो लगानीको लागि ऐन नै बनेको छैन’, उनले भने ।
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले भरतपुरलाई आर्थिक केन्द्रका रुपमा विकास गर्नुपर्ने बताए ।
यहाँबाट १५० किमीको दुरीमा देशका ठूला शहरहरु रहेको भन्दै उनले भने, ‘यहाँबाट निर्यात हुने वस्तुलाई प्रवर्द्धन गर्नुपर्छ । आयात प्रतिस्थापन गर्नुपर्छ । त्यसको लागि आर्थिक कुटनीति बनाउन जरुरी छ ।’
सिंहदरबारको अधिकार गाउँगाउँमा पुगेको भन्ने कुरामा जनतालाई प्रत्याभुति दिलाउन उनले आग्रह गरे । त्यस्तै, महानगरको अहिलेको संरचनाले आगामी १० वर्षमा कति जनसंख्यालाई धान्न सक्छ त्यसको विश्लेषण गर्नुपर्ने उनले सुझाए ।