काँग्रेस पश्चिम नवलपरासीमा विवादः नाम कटौती आकांक्षीहरुको असन्तुष्टी

हरि शर्मा –
परासी, ९ बैशाख ः नगर समितिले नाम कटौती गरेर सिफारिस गरेपछि पश्चिम नवलपरासी रामग्राम नगरपालिकाको कांग्रेसबाट मेयर पदमा आकांक्षा देखाएका ३ जनाले जिल्ला समितिमा निवदेन दिएका छन् ।
निवेदन दिनेमा फेरि दोहोरिन खोजेका रामग्राम नगरपालिकाका मेयर नरेन्द्रकुमार गुप्ता छन् । त्यस्तै मेयर पदका आकांक्षी वडा नं.८ का वडाअध्यक्ष महेन्द्र ठाकुर र पूर्व क्षेत्रीय सभापति एंव महाधिवेशन प्रतिनिधि गुणनिधी तिवारीले पनि जिल्ला समितिमा निवेदन दिएका छन् ।
तिवारी प्रदेश सभा निर्वाचनमा कांग्रेसका उमेदवारसमेत थिए । उपमेयरमा पनि नाम सिफारिस नगरेको भन्दै आरधना भट्टले जिल्ला समितिमा निवेदन दिएकी छन् ।
वडातहहरुबाट सिफारिस गरेर पठाइएपनि पार्टीको नगर समितिले नाम कटौती गरी जिल्ला तहमा पठाएको उनीहरुले बताएका छन् । नगर समितिमा मेयर पदका लागि ७ जना र उपमेयरमा ५ जनाको नाम सिफारिसका लागि आएको थियो । नाम सिफारिसबारे नगर समितिमा विवाद भएपछि बहुमतको नाउँमा पूर्वाग्राही ढंगले आफूखुसी जिल्ला समितिमा नाम पठाइएको निवदेनमा जनाइएको छ ।
‘ पार्टीमा लामो समयदेखि लागेकालाई पाखा लगाउँदै विधान विपरीत क्रियाशिल सदस्यतासमेत नरहेका र भर्खर मात्र अर्को पार्टीबाट आएकाहरुको नाम पठाइएकोले आफूहरुको नाम समावेश गरी प्रकृया अघि बढाउन माग गर्दछौं ।’ उनीहरुले दिएको निवदनमा उल्लेख छ ।
नगर समितिले प्रतिनिधि सभा क्षेत्रीय समिति र प्रदेश सभा क्षेत्रीय समितिमार्फत जिल्ला समितिमा पठाएको पत्रमा १ महिलासहित ३ जनाको नाम मेयर र ३ जनाको नाम उपमेयरका लागि सिफारिस गरिएको छ ।
नगर समितिले सिफारिस नगरेको भन्दै ३ जना मेयर र १ जना उपमेयरका आंकाक्षीको नाम आएको जिल्ला सचिव उमेश यादवले बताए । नगर समितिले पठाएका र जिल्ला समितिमा आएका मेयर र उपमेयर सबैको नाम समावेश गरी प्रदेश समितिमा पठाइएको यादवले जानकारी दिए ।
