नवलपुरः चुनाव लड्न दुई उपसचिवले दिए राजीनामा

नवलपुर । नगरपालिकाको मेयर र गाउँपालिकाको अध्यक्षमा चुनाव लड्न नेपाल सरकारका दुईजना उपसचिवले जागिर छाडेका छन्।
पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा मेयर लड्न उपसचिव विष्णुप्रसाद भुसालले राजीनामा दिएका हुन्। यस्तै सोही जिल्लाको बुलिङटार गाउँपालिकाको अध्यक्ष पदमा चुनाव लड्न डोलराज पाण्डेले उपसचिवबाट स्वेच्छिक अवकाश लिएका छन् ।
उनीहरु दुवैजना नेपाली कांग्रेसबाट चुनाव लड्ने उमेदवारका आकांक्षी हुन् । मेयर पदमा चुनाव लड्न खोजेका भुसालले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट राजीनामा दिएका हुन् । पाण्डेले शिक्षा विकास तथा समन्वय इकाई पश्चिम नवलपरासीको उपसचिवबाट स्वेच्छिक अवकाश लिएका हुन् ।
भुसालले २२ वर्ष र पाण्डेले २८ वर्ष सरकारी सेवामा विताएका हुन् । भुसाल देवचुली नगरपालिका–९ र पाण्डे बुलिङटार–३ का बासिन्दा हुन् । जागिर छाडेका दुवैले सरकारी सेवाको अनुभवले स्थानीय तहको विकास गर्ने सोचका साथ राजनीतिमा आएको बताएका छन् ।
पाण्डे उमेरका कारण १ वर्षपछि अवकाश हुँदै थिए । भुसालको अवकाश हुन ४ वर्ष बाँकी थियो । भुसाललाई मेयरको टिकट दिन जिल्ला र प्रदेशका नेताहरुले आश्वासन दिएपछि राजीनामा दिएको बताइएको छ । ‘नेताहरुको ग्रिन सिग्नलबाटै राजीनामा दिएको हुँ । पार्टीले टुंगाउँला,’ भुसालले भने ।
अध्यक्ष पदका आकांक्षी पाण्डेले आफूलाई कुनै नेताले आश्वासन नदिएको बताए । ‘नेताहरुको आश्वासनले होइन । सरकारी जीवन धेरै भयो । यही अनुभवबाट गाउँमा केही गरौं भनेर सामाजिक सेवामा आउन खोजेको हुँ,’ पाण्डेले भने ।
मेयर र अध्यक्ष पदका लागि जागिर छाडेका दुवैजनाको उमेदवारको टुंगो अझै लागेको छैन। दुवैजनाको पदमा कांग्रेसका धेरै नेताले आकांक्षा देखाएका छन् ।
देवचुली नगरपालिकाको मेयरका लागि भुसालसहित १३ जना र बुलिङटार गाउँपालिका अध्यक्षका लागि पाण्डेसहित १० जना आकांक्षीको नाम सिफारिस भई आएको नेपाली कांग्रेसका जिल्ला सचिव होमराज रानाभाटले जानकारी दिए ।