कावासोती गठबन्धनः नगरप्रमुख काँग्रेस, उपप्रमुख माओवादी केन्द्र

नवलपुर । मनोनयनको मिति नजिकि सक्दा पनि सत्ता गठबन्धन दल अझै कहाँ कसलाई भन्ने भागबण्डा मिलाउन सकिरहेका छैनन् ।
नवलपुरको कावासोती लगायतका ८ वटै पालिकामा गठबन्धनले अझै सहमति जुटाउन सकेको छैन । कावासोतीमा पछिल्लो जानकारी अनुसार काँग्रेस गठबन्धन दलका सबैदलहरुसँग छुट्टाछ्ट्टै छलफलमा रहेका छन् ।
काँग्रेस दिने र अन्य दल लिने गरी छलफलमा बसेका छन् । कावासोती नगरपालिकामा यस अघि नगरप्रमुख उपप्रमुख दुवैमा नेकपा एमालेले जित हात पारेको थियो ।
पछिल्लो जानकारी अनुसार कावासोतीमा नगर प्रमुख काँग्रेस र उपप्रमुख माओवादी केन्द्रले लिने गरी टुंगिएको छ ।
माओवादी केन्द्रका नेता डासीराम बस्याल माइकलका अनुसार काँग्रेससँग बसेको छलफलमा नगर प्रमुख काँग्रेसले लिने र उपप्रमुख माओवादी केन्द्रले लिने गरी सहमति भएको हो ।
त्यसैगरी कावासोती १६ मा वडाध्यक्ष माओवादी केन्द्रलाई दिने भएको छ भने अन्य वडाहरुमा माओवादी केन्द्रले वडा सदस्यहरु लिने भएका छन् । त्यसैगरी कावासोती १४ मा वडाध्यक्ष माओवादी केन्द्रलाई दिने सहमति नजिक पुगेको माइकलले बताए ।
काँग्रेसले कावासोतीमा अन्य दलहरुसँग पनि सहमतिका लागि छलफल गरिरहेको छ । तथापि अन्य दलहरुसँग भने सहमति जुटिसकेको छैन । नवलपुरमा काँग्रेस गठबन्धनका अन्य दलहरुलाई केही पदहरु मात्र दिएर थमथमाउने पक्षमा देखिएको छ ।