नवलपुरमा व्यापक रुपमा नदीजन्य वस्तुको उत्खनन, ठाउँ ठाउँमा जेसिभी र ट्याक्टर बरामद

रामकुमार श्रेष्ठ –
नवलपुर । पूर्वी नवलपरासीमा व्यापक रुपमा नदीजन्य वस्तुको उत्खनन गरेको पाइएको छ ।
पछिल्लो समय नवलपुरमा प्रहरीले विभिन्न खोला तथा नदीहरुबाट नियन्त्रणमा लिएको जेसिभी र ट्याक्टरको तथ्यांक हेर्ने हो भने पनि अवैध उत्खनन व्यापक भएको पुष्टि गर्दछ ।
नवलपुर प्रहरीले पछिल्लो दुई दिनमा ३ वटा खोलाबाट ३ वटा जेसिभी र १० वटा ट्याक्टर नियन्त्रणमा लिएइको छ ।
नवलपुर प्रहरीका अनुसार मध्यविन्दु न.पा. १२ द्रावादा स्थित अरूणखोलाबाट अवैध रूपमा नदिजन्य पदार्थ उत्खनन् तथा ओसारपसार गर्दै प्रहरीले १ वटा जेसिभी र २ वटा ट्याक्टर नियन्त्रणमा लिएको छ । प्रहरीले अरुणखोलाबाट लु १ क २५२८ नम्बरको जेसिभी, लु ३ त १२१६ नम्बर र लु ४ त ४८१ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको छ ।
त्यसैगरी कावासोती नगरपालिका ११ लोकाहा खोलाबाट १ जेसिबी, २ ट्याक्टर, विनयीत्रिवेणी गाउँपालिका २ विनयीखोलाबाट एउटा जेसिबी र ६ ट्याक्टर अबैध रुपमा नदिजन्य पदार्थ उत्खनन् तथा ओसारपसार गर्दै गर्दा नियन्त्रणमा लिइएको नवलपुरका प्रहरी उपरीक्षक प्रज्जवल महर्जनले बताए ।
जनप्रतिनिधिहरु स्थानीय तहको निर्वाचनमा ध्यान केन्द्रित गरेको बेला अहिले नवलपुरमा व्यापक नदीजन्य वस्तुको चोरी निकासी बढेको छ ।
प्रहरीले एक साता अघि विनयी त्रिवेणी २ को विनयी खोलाबाट पनि अवैध रुपमा नदीजन्य वस्तुको ओसारपसार गर्दै गरेका ९ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएर कारवाही गरेको थियो ।
बेलैमा नदीजन्य वस्तुको निकासीमा ठेक्का नलगाएका कारण नदीजन्य वस्तुको चोरी निकासी बढेको जानकारहरु बताउँदछन् ।
त्यसैगरी नवलपुर प्रहरीले दुई साता अघि गैडाकोट १५ मेजी स्थितबाट अवैध रुपमा ढुंगा, बालुवा उत्खनन गर्दै गरेका ना १ क ६१२१ नम्बरको १ थान जेसिभी र लु ३ त ७५३९, ना ५ त ७४१७, लु ४ त ५२४५ र लु ४ त ८८५५ नम्बरको गरी ४ वटा ट्याक्टर नियन्त्रणमा लिएको थियो ।