कावासोतीमा ७ स्वतन्त्र सहित नगरप्रमुखमा १७ जनाको उमेदवार, कस्तो होला भिडन्त




कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा ७ जना स्वतन्त्र उमेदवार सहित १७ जनाले नगरप्रमुखमा उमेदवारी दिएका छन् ।

 

जिल्ला निर्वाचन कार्यालय नवलपुरका अनुसार यहाँ ७ जना स्वतन्त्र उमेदवार सहित १७ जनाले नगरप्रमुखमा उमेदवारी दिएको हो ।

 




यहाँ ठूला दल नेकपा एमाले, नेपाली काँग्रेस सहितका राजनीतिक दलहरुले नगर प्रमुखमा उमेदवारी दिएको हो ।

 

माओवादी केन्द्रले भने उपप्रमुखमा मात्रै उमेदवारी दिएको छ । प्रमुखमा दिएको छैन । माओवादी केन्द्रले नगरप्रमुखमा काँग्रेसलाई समर्थन गर्ने गरी उमेदवारी दिएको हो ।

 

कावासोती नगरपालिकामा नेकपा एमालेबाट विष्णु भुसालले उमेदवारी दिएका छन् । भुसाल कावासोतीमा यस अघि कावासोती खानेपानी उपभोक्ता समितिका अध्यक्ष र शिवमाविका अध्यक्ष भएर सामाजिक संस्थामा काम गरेका थिए ।

 

२०७४ को स्थानीय निर्वाचनमा पनि उनले नगरप्रमुखमा दावी पेश गरेपनि एमालेबाट टिकट पाएका थिएनन् ।

 

त्यसैगरी कावासोती नगरपालिकामा नेपाली काँग्रेसबाट महेन्द्र पोख्रेलले उमेदवारी दिएका छन् । पोख्रेल यस अघि पनि कावासोती नगरपालिकामा नगरप्रमुखमा नेपाली काँग्रेसबाट निर्वाचनमा होमिएका थिए । उनी एमालेसँग पराजित हुन पुगेका थिए । उनले पटक माओवादी केन्द्रसँग गठबन्धन गरेर एमालेसँग हारको बदला लिने गरी पुन नगरप्रमुखमा चुनावी मैदानमा होमिएका छन् ।

 

यहाँ नगरप्रमुख पदमा काँग्रेस एमाले बाहेक, सत्ता गठबन्धनकै नेकपा एकीकृत समाजवादी, विवेकशील साझा पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, मंगाले नेशनल अर्गनाइजेशन र सामाजिक एकता पार्टीले नगरप्रमुखमा उमेदवार खडा गरेको छ ।

 

सत्ता गठबन्धनमा कावासोतीमा सहमति जुट्न नसकेपछि नेकपा एकीकृत समाजवादीका तर्फबाट नगरप्रमुखमा सालिकराम भट्टराईले उमेदवारी दिएका छन् । उनी नेकपा एकीकृत समाजवादीका नवलपुर जिल्ला अध्यक्ष समेत हुन् । उनी २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट नगरप्रमुखका आकांक्षी थिए ।

 

त्यसैगरी राप्रपा पार्टीबाट गुणाखर काफ्ले, राष्ट्रिय जनमुक्ति पार्टीबाट बुद्धिबहादुर सारु मगर, विवेकशिल साझा पार्टीबाट केशवप्रसाद अधिकारी, मंगोल नेशनल अर्गनाइजेशनबाट गोपाल गुरुङ र सामाजिक एकता पार्टीबाट धनबहादुर गुरुङले नगरप्रमुखमा उमेदवारी दिएका छन् ।

 

यहाँ ७ जनाले स्वतन्त्र उमेदवारी दिएका मध्ये ३ जना नेपाली काँग्रेसकै वागी उमेदवार छन् भने नेकपा एमालेका कावासोती नगर कमिटि अध्यक्ष रामकृष्ण ढुंगानाले पनि बागी उमेदवारी दिएका छन् ।

काँग्रेसबाट कमलराज गुरौं, नारायणप्रसाद पन्त र बालकृष्ण पाण्डेले बागी उमेदवारी दिएका छन् ।

त्यसैगरी लोकप्रसाद काफ्ले, माधवप्रसाद लम्साल र पत्रकार अमित कुमार विश्वकर्माले स्वतन्त्र रुपमा उमेदवारी दिएका छन् ।

कावासोतीमा प्रमुख एमाले नगरप्रमुख पदमा नेकपा एमाले र नेपाली काँग्रेस बीच कडा प्रतिप्रधा हुने देखिएको छ ।



सम्बन्धित
Loading...