गौतम बुद्ध विमानस्थलमा वाइडबडीको परीक्षण उडान सफल





नेपाल वायुसेवा निगमको ए–३३० वाइडबडी बिहीबार अपराह्न भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सफल अवतरण भएको छ । दिउँसो तीन बजे उड्ने भनेको वाइडबडी दुई घण्टा डिले भएर ५:१५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जहाज ५:५५ बजे ल्यान्ड भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दहालले बताए ।

 

काठमाडौंबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेलगायत मन्त्रालयका सचिव, नागरिक उड्डयन प्राधिकरण पदाधिकारी, सञ्चारकर्मीलगायत दुई सय ६० जना सवार जहाजलाई विमानस्थलमा अवतरण भएपछि पानीको फोहराले स्वागत गरिएको थियो । जहाज ल्यान्ड गरेको हेर्न विमानस्थलवरपर सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो ।

 


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि नेपालको दोस्रो नयाँ गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय ध्वजावाहक जहाज अवतरण गरेको हो । नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा वाइडबडी ए–३३० जहाजले ‘अप्रेसनल पर्फमेन्स टेस्ट फ्लाइट’ गरेको हो ।

 

गौतम बुद्ध विमानस्थल अबदेखि दैनिक १८ घण्टा सञ्चालनमा आउनेछ । आगामी २ जेठमा बुद्धपूर्णिमाका दिनदेखि २४ घण्टा अन्तर्राष्ट्रिय व्यावसायिक उडान हुने प्राधिकरणले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै क्षमतामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने प्राधिकरणले जनाएको छ ।

 

कुल ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्गको यो विमानस्थललाई व्यावसायिक सञ्चालनमा आउँदा हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप न्यूनीकरण हुने प्राधिकरणले जनाएको छ । बढ्दो हवाई उडान चाप व्यवस्थापनका लागि प्राधिकरणले अन्तर्राष्ट्रिय विमानस्थललाई २४सै घण्टा सञ्चालन गर्ने तयारी गरेको छ ।



सम्बन्धित
Loading...