नवलपुरः काँग्रेस एमाले कार्यकर्ताबीच झडप, काँग्रेसका उमेदवार सहित काँग्रेस एमालेका ६ घाइते


 



नवलपुर । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच दोहोरो झडप भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रजज्वल महर्जनले गएराति हुप्सेकोटमा काँग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएको र प्रहरीले राति नै तितरबितर पारेर घटना साम्य पारेको बताए ।

 




झडपमा परी दुवैतर्फका गरी ६ जना घाइते भएको बताइएको छ । नेपाली काँग्रेस नवलपुरका उपसभापति बालकृष्ण घिमिरेले हुप्सेकोट गाउँपालिका अध्यक्षका उमेदवार लक्ष्मी पाण्डे चढेको भाडाको गाडी ग ३ च १६०६ नम्बरको स्कार्पियो र लक्ष्मी पाण्डेमाथि सांघातिक हमला भएको बताए ।

 

यता नेकपा एमाले हुप्सेकोट गाउँपालिका उमेदवार चेतन रानाले भने लक्ष्मी पाण्डेमाथि कुनै आक्रमण नभएको र उनले निर्वाचन विथोल्नका लागि झुटो प्रचार गरेको बताए । रानाका अनुसार चुनावी प्रचारबाट एक्लै घर फर्कदै गरेका मनोज गुरुङलाई लक्ष्मी पाण्डे सहित रहेको टोलीले आक्रमण गरेर घाइते बनाएपछि राति दोहोरो झडप भएको हो ।

 

आक्रमणमा परी काँग्रेसका कार्यकता प्रिन्स मल्ल, जीवन मल्ल लगायतका घाइते भएका छन् भने एमालेका मनोज गुरुङ, हरि केसी र चुडाबहादुर शेरपुन्जा मगर घाइते भएका छन् । उनीहरुको मध्यविन्दु जिल्ला अस्पतालमासामान्य उपचार पछि थप उपचारका लागि चितवन मेडिकल कलेजमा उपचार भईरहेको छ ।

 



सम्बन्धित
Loading...