प्रेम प्रस्ताव अस्विकार गर्दा २० वर्षीयाको घाँटी रेटेर हत्या गर्ने फेनिललाई मृत्युदण्ड

भारतको गुजरातस्थित सूरतमा ग्रिष्मा वेकारियाको हत्यामा दोषी पाइएका फेनिल गोयानीलाई अदालतले मृत्युदण्डको सजायँ सुनाएको छ । यसै वर्ष १२ फेब्रुअरीमा फेनिल गोयानीले परिवारकै सामुन्ने ग्रिष्माको घाँटी रेटी हत्या गरेका थिए ।
यो हत्याकाण्डले धेरैलाई त्रासमा पारेको थियो । फेनिलका वकिलले अदालतसमक्ष यो मामिलामा मृत्युदण्डको सजाय नदिइयोस् भनेर अपिल गरेका थिए । तर न्यायाधीश विमल व्यासले यो मामिलामा मृत्युदण्डको सजाय सुनाए ।
घटनाको एक हप्ताभित्रै प्रहरीले आरोपपत्र दर्ता गरेका थिए । यो मामिलामा ग्रिष्माका परिवारले जुन ऊजुरी दर्ता गरेका थिए त्यस अनुसार फेनिलले पछिल्लो एक वर्षदेखि ग्रिष्मालाई तनाव दिइरहेका थिए ।

आरोपमा भनिएको छ, ‘पछिल्लो एक वर्षदेखि फेनिलले ग्रिष्माको पिछा गरिरहेका थिए, तनाव दिइरहेका थिए । त्यसपछि दुई परिवारबीच सम्झौता पनि भएको थियो ।’
ग्रिष्मा जेजे शाह कलेजबाट बी कम पढिरहेकी थिइन् ।