रत्ननगरमा पनि बर्ड फ्लु पुष्टि : १५ हजार कुखुरा नष्ट


 



रत्ननगर । चितवनको रत्ननगरका एक व्यवसायीको पोल्ट्री फामका लेयर्स कुखुरामा पनि बर्ड फ्लु पुष्टि भएको छ । रत्ननगर–३ बेल्सीमा रहेको जेम्स पोल्ट्री एग्रो प्रालिका कुखुरामा बर्ड फ्लु पुष्टि भएको हो । बर्ड फ्लु पुष्टि भएपछि फार्ममा रहेका १५ हजार कुखुरा नष्ट गरिएको छ । तीनवटा खोरमा रहेका उक्त संख्याका कुखुरा मारेर खाल्टोमा पुरिएको हो । अण्डा उत्पादनको लागि पालेका कुखुरा नष्ट गर्दा २ करोड बढी घाटा बेहोर्नु परेको सञ्चालक राममणि थपलियाले बताए ।

 

एक हप्ता अघिदेखि फार्ममा कुखुरा मर्न थालेको थपलियाले बताए । सुरुमा एउटा दुईटा गर्दागर्दै शुक्रवार देखि दैनिक ५०० सम्म कुखुरा मरेको उनले जानकारी दिए । खोरमा कुखुरा मर्न थालेपछि वैशाख २१ गते बर्ड फ्लु परिक्षणको लागि नमुना लगिएको थियो । केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा परीक्षण गर्दा बैशाख २२ गते बर्ड फ्लु पुष्टि भएको हो ।

 




बर्ड फ्लु पुष्टि भएलगतै पशुसेवा विभागले सो फार्ममा रहेका १५ हजार कुखुरा नष्ट गर्ने निर्णय गरेको राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोशाला भरतपुरका सूचना अधिकारी तथा पशु चिकित्सक इन्दुराय यादवले जानकारी दिए । प्रयोगशालाका प्राविधिक कर्मचारी, रत्ननगर पशु विकास शाखाका कर्मचारीहरुले फार्ममा रहेका कुखुरा नष्ट गरेका छन् । कुखुरा नष्ट गरी तीन महिना सो पोल्ट्री फार्म सिल गरिएको छ ।

 

दुई महिना अघि देखि अण्डा पार्न सुरु गरेका कुखुरा नष्ट गर्नुपर्दा सञ्चालक थपलियालाई ठूलो आर्थिक मार परेको छ । करिब ६ महिना औषधि, आहार खुवाएर हुर्काएको कुखुरा अण्डा पार्न सुरु गरेको केही महिनामै नष्ट गर्नु परेकाले दुई करोड भन्दा बढी घाटा भएको सञ्चालक थपलियाले बताए । १० वर्ष अघि पोल्ट्री फार्म सुरु गरेका थपलियाको अहिले पनि बैंकमा चार करोड ऋण छ । अण्डा विक्रीबाटै थपलियाले किस्ता र व्याज बुझाउदै आएका थिए ।

 

‘फार्ममा बर्ड फ्लु पुष्टि भएपछि सडकमा आउने अवस्था भयो’, उनले भने, ‘अब कसरी ऋण तिरेर उन्मुक्ति पाउने हो ।’ थपलियाको पोल्ट्री व्यवसाय बिमा छैन । सरकारले दिने क्षतिपूर्ति पनि स्पष्ट नभएका कारण व्यवसायिक किसानहरु मारमा पर्दै आएका छन् । ‘सरकारले क्षतिपूर्ति दिन्छ भन्ने सुनेको छु’, सञ्चालक थपलियाले भने, ‘तर पहिलो पटक बर्ड फ्लु पुष्टि भएका कारण यसको मलाई मेसो छैन् ।’

 

राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशाला भरतपुरका प्रमुख डा चेतनारायण खरेलले नेपाल सरकारले निर्वाधरण गरेको मापदण्ड अनुसार व्यवसायीले क्षतिपूर्ति पाउने बताए । भरतपुरमा देखिएको केही हप्ता पछि खैरहनीको अन्नपूर्ण पोल्ट्री ब्रिडर्स फर्म प्रालिमा बर्ड फ्लु पुष्टि भएको थियो ।

 

शुक्रवार मात्र सो फार्ममा रहेका एक लाख कुखुरा नष्ट गरिएको थियो । खैरहनीमा कुखुरा नष्ट गरेको भोलीपल्टै शनिवार रत्ननगरको जेम्स पोल्ट्री एग्रो प्रालिमा बर्ड फ्लु पुष्टि भएको रत्ननगर पशु विकास शाखा प्रमुख शालिग्राम पौडेलले बताए ।



सम्बन्धित
Loading...