नवलपुरः कावासोतीमा मतगणना नमिलेको भन्दै दलहरुले गरे हंगामा, पुन मतगणना गर्न माग

रामकुमार श्रेष्ठ । नवलपुरको कावासोती नगरपालिकामा मतगणनाको क्रममा मतगणना नमिलेको भन्दै राजनीतिक दलका प्रतिनिधिहरुले मतगणना स्थलमा विरोध गरेका छन् ।
नेकपा एमाले बाहेकका दलहरुले मतगणनाका क्रममा मत जोड्दा फरक फरक तथ्यांक आएको भन्दै पुन मतगणना गर्न माग गरेको हो ।
कावासोती १६ को मतगणना सकिए पछि दलका प्रतिनिधिहरुले मतगणना स्थलमा विरोध शुरु गरेका हुन् । दलहरुको विरोधका कारण अहिले मतगणना रोकिएको छ ।
अहिलेसम्म कावासोती १, २ र १७ को अन्तिम मत परिणाम आइसकेको छ । जस अन्तरगत १ र १७ मा एमाले र कावासोती २ मा नेपाली काँग्रेसले जित हात पारेको छ ।
त्यसैगरी कावासोती १६ को अन्तिम मत परिणाम अनुसार कावासोती १६ को वडाध्यक्षमा गठबन्धनबाट माओवादी केन्द्रका आनन्द श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका छन् भने सदस्यहरुमा गठबन्धनकै माओवादी केन्द्र, काँग्रेस, जनमोर्चाका उम्मेदवारहरु विजयी भएका छन् । कावासोती १६ को आधिकारिक मत परिणाम भने घोषणा हुन बाँकी छ ।
कावासोती १६ को नगर प्रमुख र उपप्रमुख पदमा कम्तिमा १ सय मत गठबन्धनको अझै बढी हुनु पर्ने र मतगणनाको क्रममा गढबढी भएको उनीहरुले दावी गरेका छन् ।
अहिले कावासोती १६ को मत गणना सकिएर कावासोती १५ को मतगणना हुने तयारी थयो भने कावासोती ३ को मतगणना चलिरहेको थियो । अहिले दुवै वडाको मतगणना रोकिएको नगरप्रमुख पदका स्वतन्त्र उम्मेदवार अतिम विश्वकर्माले बताए ।