नेपाली स्याटलाइटले डेढ महिनापछि पृथ्वीको परिक्रमा गर्ने
नेपालले पहिलो पटक प्रक्षेपण गरेको नेपालीस्याट–१ भूउपग्रहले अब डेढ महीनापछि स्वतन्त्र रुपले अन्तरिक्षमा रही पृथ्वीको परिक्रमा गर्ने भएको छ । यही वैशाख ४ गते प्रक्षेपित उक्त भूउपग्रह वैशाख ६ गते अपराह्न ३ः३० बजे (प्रक्षेपण भएको ३६ घण्टा चालीस मिनेटपछि) पृथ्वीलाई परिक्रमा गर्ने तल्लो कक्षस्थित अन्तरराष्ट्रिय केन्द्र सिग्नसमा पुगी पृथ्वीको परिक्रमा गर्न तत्पर रहेको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) प्रविधि सङ्कायका प्रमुख रवीन्द्रप्रसाद ढकालले जानकारी दिए ।
‘उक्त भूउपग्रह अन्तरिक्षयान पृथ्वीको सतहबाट ४०० किमीको उचाइमा रही अन्तरराष्ट्रिय केन्द्रमा जोडिन सफल भएको छ’ उनले भने ‘नाष्टले सूचना प्रवाहका लागि निर्माण गर्न लागेको ग्राउन्ड स्टेशनका साथै जापानको ग्राउन्ड स्टेशनबाट संयुक्त रुपमा यस भूउपग्रहले अबको करीब डेढ महीनापछि स्वतन्त्र रुपमा अन्तरिक्षमा रही पृथ्वीको परिक्रमा गर्नेछ ।’
वैशाख ४ मा अमेरिकाको भजीर्नियास्थित वाल्ओप्सदीप नाशाको रकेट प्रक्षेपण केन्द्रबाट आफ्नो अन्तरराष्ट्रिय अन्तरिक्ष केन्द्रको आपूर्तिका लागि एनजी ११ अन्तर्गत अमेरिकी पूर्वीय दिवा समय अपराह्न ४ः४६ बजे ( वैशाख ५ गते नेपाली समयानुसार बिहान २ः३१ बजे) प्रक्षेपण भएको थियो । सो भूउपग्रहको आकार (१० सेमी गुणा १० सेमी गुणा १० सेमी) रहनाका साथै तौल (१.५ किग्रा) छ । भूउपग्रहका नाम नेपालको नेपालीस्याट–१, श्रीलङ्काको रावन–१ र जापानको यूवुसु राखिएका छन् ।
ब्रम्हाण्डमा कति छन त तारा (भिडियो सहित)
सो भूउपग्रहबाट प्राप्त तस्वीर वा अन्य तथ्याङ्क व्यावसायिक प्रयोजनका लागि योग्य हुने छैनन् । नाष्टले यो प्रविधि नेपाली जनशक्तिको निर्माणका साथै क्षमता विकास, अन्तरराष्ट्रिय सञ्जालको साझेदारी, अन्तरिक्षमा उपस्थिति तथा उत्साही युवामा पहुँचका दृष्टिले अघि बढाएको हो । जापानी अन्तरिक्ष अन्वेषण संस्था जाक्सालाई उक्त तीन साना भूउपग्रह निर्माणका लागि नमूना तथा सम्पूर्ण परिश्रण गर्न लगाइएको बताइएको छ ।