सेनाको बम, बारुद तथा लत्ता कपडा स्वदेशमै उत्पादन गरिने

सरकारले नेपाली सेनाको पोसाक लत्ता कपडा, तथा गोली गठ्ठाको उत्पादन स्वदेशमै गर्नेगरी विशेष व्यवस्था गर्ने बताएको छ ।
मंगलबार आगामी आर्थिक वर्षको बजेटको नीति तथा कार्यक्रम सार्वजनिक गरेको सरकारले यस्तो बताएको हो । हाल भएका सैनिक बम, बारुद तथा गोलि गठ्ठासहित आवश्यक सामग्री उत्पादन उद्योगहरुलाई विस्तार गरिने सरकारले बताएको छ ।
नेपाललाई विदेशी चलचित्र छायाङ्कनको गन्तव्य बनाउने घोषणा
रकारले नेपाललाई विदेशी चलचित्र छायाङ्कनको आकर्षक गन्तव्य बनाउने घोषणा गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नेपाललाई विदेशी चलचित्र छायाङ्कनको गन्तव्य बनाउने घोषणा गरेकी हुन् ।
उनले चलचित्रमार्फत अन्तर्राष्ट्रिय स्तरमा नेपालका कला, संस्कृति, भौगोलिक विविधता र सुन्दरताको प्रचारप्रसार गर्न चलचित्र छायाङ्कनको गन्तव्य बनाउने बताइन् ।
प्रदेश र स्थानीय तहलाई सबल बनाइने
सरकारले प्रदेश तथा स्थानीय तहलाई थप सबल बनाउने घोषणा गरेको छ । नीति तथा कार्यक्रममार्फत सरकारले दुवै तहको सबलीकरणमा जोड दिएको हो ।
सरकारले सुशासनसम्बन्धी नीति बनाउने घोषणा गरेको छ र राष्ट्रिय योजना आयोगमा नीति प्रयोगशाला बनाउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
त्यसैगरी केही समयदेखि अलपत्र परेको निजामती सेवा सम्बन्धी संघीय कानून तर्जुमा गर्ने घोषणा पनि सरकारले गरेको छ । सार्वजनिक सेवालाई उच्च मनोबलयुक्त बनाउने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले भनिन्, ‘सार्वजनिक निकायबाट प्रदान गरिने सेवा भरपर्दो बनाउन आवश्यक समन्वय गरिनेछ ।’
उनले विद्युतीय सुशासन प्रवर्द्धन गर्न उच्चस्तरीय संयन्त्र बनाउने घोषणा पनि गरिन् । सरकारले संघीय प्रशासनको छरितो बनाउन गाभ्ने र पुनर्संरचना गर्ने घोषणा गरेको छ । साथै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कार्यक्षेत्रको पुनरावलोकनको घोषणा पनि गरेको छ ।
