चलचित्र ‘कबड्डी ४’ को प्रचारमा ‘भाइरल म्यादी’ !
काठमाडौं । चलचित्र ‘कबड्डी’ टिम आफ्नो चौथो श्रृंखला ‘कबड्डी–४’ को प्रचारप्रसारमा व्यस्त छ । पछिल्लो समय नेपाली चलचित्रकर्मीहरू पनि आफ्नो चलचित्र प्रचारका लागि अनेक–अनेक तरिका अपनाइरहेका छन् ।
यसैक्रममा ‘कबड्डी–४’ ले पनि अहिलेको ‘भाइरल’ ट्रेन्ड पछ्याएको छ । ‘कबड्डी’ टिमले केही समयअघि सामाजिक सञ्जालमा ‘म्यादी प्रहरी’को भिडियो बनाएर भाइरल भएका किशोरमार्फत आफ्नो चलचित्र प्रचारप्रसार थालेको छ ।यसैक्रममा ‘कबड्डी–४’ ले पनि अहिलेको ‘भाइरल’ ट्रेन्ड पछ्याएको छ । ‘कबड्डी’ टिमले केही समयअघि सामाजिक सञ्जालमा ‘म्यादी प्रहरी’को भिडियो बनाएर भाइरल भएका किशोरमार्फत आफ्नो चलचित्र प्रचारप्रसार थालेको छ ।
चलचित्रका मुख्य अभिनेता दयाहाङ राई र उक्त किशोरसँगको भिडियो सामाजिक सञ्जालमा देख्न सकिन्छ । भिडियोमा अभिनेता राईले उक्त युवकलाई अंगालो हालेका छन् र उक्त युवक भन्छन्, “सागर, किस्ने, बसन्ते केटाहरू कहाँ छन् के त ? शुक्रबारदेखि हाम्रो दाइको कबड्डी–४ भन्ने फिल्म रिलिज भै’राछ । तँ’हरू काँ गैदिराछस् के ? केटाहरू सबजना आइज है हलमा बसेर चट्ट हेर्नेपर्छ के फिल्म हैन दाइ ।”
ती किशोरले त्यसो भनेपछि अभिनेता राईले पनि ती किशोर ज्ञानी भैसकेको भन्दै धन्यवाद दिन्छन् ।
अहिले सामाजिक सञ्जालदेखि प्रचारप्रसार, विज्ञापनमा ती किशोरको डाइलग चर्चित बनिरहेको छ । हालै बालेनका समर्थकले पनि मतगणना भैरहेको राष्ट्रिय सभागृह बाहिर बसेर ‘सागर, किस्ने, बसन्ते बालेन शाह हो जित्ने’ भन्दै नारा लगाएका थिए ।
यतिमात्रै नभएर कञ्चनपुरको एउटा ट्युसन सेन्टरले पनि उनकै डायलग सापटि लिएर आफ्नो संस्थाको प्रचार गरेको सामाजिक सञ्जालमा देख्न सकिन्छ ।
चलचित्रको पूर्वी नेपालको दमकदेखि सुरु भएको प्रचार यात्रा इटहरी, चितवन, बुटवल, पोखरा हुँदै काठमाडौंमा आइपुग्ने छ । यही जेठ १३ गते प्रदर्शनमा आउने चलचित्रका टिम रिलिजलगतै पनि नेपालको पश्चिमतिर प्रचारप्रसारको यात्रामा जाने तयारी रहेको छ ।