नवलपुरमा चैते धान उत्पादन बढ्यो, बजारको समस्याले किसान चिन्तित


 



कावासोती । नवलपुरका किसानलाई अहिले चैतेधान स्याहार्ने चटारो छ । चैतेधान यसवर्ष निकै राम्रो उत्पादन भएको छ । लहलह झुलेका धानका फाँट देख्दा मनै आनन्दित हुन्छ । तर , स्याहार्ने बेलामा दिनहुँ भएको वर्षाले एकातिर किसान मार परेका छन् भने , अर्कोतिर उत्पादित धानको बजारको समस्याले किसान चिन्तित बनेका छन् ।

 

जिल्लामा कृषि ज्ञान केन्द्र मार्फत धान ब्लक कार्यक्रम सञ्चालन गरिएको छ । कावासोती नगरपालिकाको वडा नं १४ र १७ र गैंडाकोट नगरपालिकाको वडा नं. ११ मा धान ब्लक कार्यक्रम सञ्चालन भएपछि यहाँ धान खेती बिस्तार समेत भएको छ । धान खेतीको बिस्तारसंगै उत्पादनमा समेत वृद्धि भएको छ । तर , उत्पादित धानले उचित बजार भने , पाउन सकेको छैन् ।

 



कावासोती १४ कि किसान टिका महतो भन्नुहुन्छ – ‘धान ब्लक कार्यक्रम सञ्चालनपछि चैते धान निकै राम्रो उत्पादन भएको छ । तर, बिक्री गर्न समस्या छ । ’ विगतका वर्षहरूमा सस्तो मूल्यमै केही व्यापारीलाई दिएको र केही घरमै ढुटो बनाउन प्रयोग गर्ने गरेको उहाँ बताउनुहुन्छ । ‘पहिले त महाजनहरु व्यापारी घरमा आएर लैजानुहुन्थ्यो ।

 

सस्तोमै दिन्थ्यौँ तर , गत वर्षदेखि आउन छाडे , कतिपय मिलबाट आँउछन् तर, धेरै सस्तो मूल्य दिन्छन् , लगानी पनि नउठ्ने भएपछि हामिले ढुटो बनाएर गाईवस्तुलाई खुवाउँछौ । ’
यस्तै अर्का किसान भेदराज गुरौको पनि गुनासो उस्तै छ । ‘ढुटो किन्न गयो ४० रुपैयाँ किलो पर्छ धान बेच्न खोज्यो २८ रुपैयाँ किलो पर्छ । अहिले महाजन ( व्यापारी ) आउनै छाडे , बल्लबल्ल खोजेर व्यापारी ल्यायो मूल्य मिल्दैन् । ’

 

यहाँका किसानलाई वर्षामा उत्पादन हुने धानले खान पुग्छ । चैते धान बिक्री गर्छन् । बिक्री गर्न सधैँ समस्या हुने गरेको गुनासो किसानको छ । व्यापारी धेरै मोलमोलाइ गर्ने , उचित मूल्य नदिने गर्दा कतिपयले त्यसै भकारीमा थन्क्याएर राख्न बाध्य हुने गरेका छन् ।
यस क्षेत्रमा करिब २ सय किसानले चैते धान खेती लगाएका छन् ।

 

गैडाकोट ११ का अध्यक्ष समेत रहनुभएका किसान गोविन्द प्रसाद सुवेदीका अनुसार चैते धान खरीद गर्न नखोज्नुको एउटा कारण चिसोपना बढी हुनु हो । भने अर्को भारतबाट सस्तो मूल्यमा धान भित्रनु हो । मिलका व्यापारी तथा खाद्य उद्योगमा धानको स्याम्पल लिएर देखाउँदा सुकाएर ल्याउन भन्ने , गोदाम गर्न मिल्दैन् भन्ने , भारतबाट ल्याएको स्टक छ , अहिले लिन्नौँ भन्ने गरेको उहाँको भनाई छ ।

 

चैते धान स्याहार्ने बेलामा वर्षेनी पानी पर्ने हुँदा राम्ररी सुकाउन समस्या हुने उहाँ बताउनुहुन्छ । घरमा थन्क्याउँदा बिग्रने डर हुँदा चैते धानलाई किसानले छिटै बिक्री गर्न खोज्ने उहाँ बताउनुहुन्छ । यदी धान सुकाउने ड्रायर मेसिन र व्यवस्थीत गोदाम घर हुने हो भने , चैते धान बिक्री गर्न खासै समस्या नहुने उहाँले बताउनुभयो ।

 

कृषि ज्ञान केन्द्र नवलपुरकी बाली विकास अधिकृत मिरा चौधरीले धानको बजारीकरणका लागि कार्यालय मार्फत पहल भईरहकोे बताउनुभएको छ । जिल्लामा रहेका ठूला राइस मिलसंग कुरा गरिराखेको उहाँको भनाई छ । कतिपय मिललाई किसानसंग प्रतयक्ष सम्पर्क गराउने काम गरेको उहँँ बताउनुहुन्छ । गैंडाकोटको हकमा जय श्री फुडमा पनि कुरा गरिराखेको उहाँले बताउनुभयो ।

 

टाइचीन र अनदीमा बजारमा र मूल्यमा पनि कुनै समस्या नरहेको तर , अन्य जातको बजारमा भने समस्या नै रहेको उहाँ बताउनुहुन्छ । टाइचीन चिउरा बनाउने धान भएकाले बिक्री भइहाल्ने र अनदी स्थानीय स्तरमा समेत खपत हुने धान भएको कारण समस्या नभएको उहाँको भनाई छ ।

 

तर अन्य हर्दीनाथ , चैते ४ र ,चैते ५ भने खायनमा मात्रै प्रयोग हुँदा बजारको समस्या रहेको उहाँ बताउनुहुन्छ । चैते धान चिसो भएकै कारण खरीद गर्न नखोज्ने गरेको पाईएको उहाँँले बताउनुभयो । सुकाउने प्रविधी भित्राउन सके बजारको समस्या समाधान हुनेमा उहाँ समेत विश्वस्त हुनुहुन्छ । कुनै किसान वा समूह तयार रहेमा ज्ञान केन्द्रले अनुदानमा त्यस्ता प्रविधी प्रदान गर्न पहल गर्ने उहाँले बताउनुभयो ।

 

जिल्लामा धान ब्लक सञ्चालनपछि क्षेत्र बिस्तार र उत्पादनमा वृद्धि भएको उहाँले बताउनुभयो । ब्लक कार्यक्रम सञ्चालन गर्नुअघि यहाँका किसानले करिब ४ सय हेक्टर क्षेत्रफलमा धान खेति गर्दै आएका थिए । अहिले करिब ३ सय हेक्टर क्षेत्रफल बिस्तार भएको चौधरीको भनाई छ । अहिले ७ सय हेक्टर क्षेत्रफलमा धान खेती गरिएको उहाँले बताउनुभयो ।

 

गत वर्ष पनि अघिल्लो वर्ष भन्दा धानमा वृद्धि भएको थियो । गत वर्ष १८ सय मेट्रिक टन चैतेधान उत्पादन भएको थियो । भने यस वर्ष २८ सय मेट्रिक टन उत्पादन हुने अनुमान गरिएको चौधरीले जानकारी दिनुभयो ।

 

ब्लक कार्यक्रम अन्तरगत किसानलाई कूलो, नहर लगायतका पूर्वाधार निर्माण , यान्त्रीकरण र बीउबीजन तथा प्राविधिक ज्ञान प्रदान , अन्तर जिल्ला भ्रमण लगायतका कार्य भएको उहाँले बताउनुभयो ।

 

जिल्लामा चैते धानमा केही रैथाने जात भेडे अनदी, टाईचीन लगाइन्छ भने, अधिकाशंले, हर्दीनाथ , चैते ४ र चैते ५ जातको धान खेती गर्छन् । कावासोतीका किसानले यसपटक नयाँ जातको धान चैते ५ जातको धान लगाएका छन् । यहाँ पहिलो पटक चैते ५ को खेती गरिए पनि उत्पादन राम्रो भएको किसानको भनाई छ ।-nawalpur press

 



सम्बन्धित
Loading...